खोटाङमा दमकल सेवा सुरु


 


खोटाङ, जेठ २३ – नगरपालिका घोषणा भएको लामो समयपछि खोटाङको दिक्तेल नगरपालिकामा दमकल सेवा सुरु गरिएको छ । नेपाल सरकार र नगरपालिकाको संयुक्त लगानीमा दमकल खरिद गरेर ल्याइएपछि शनिबारदेखि जिल्लामै पहिलोपल्ट दमकल सेवा सुरु गरिएको हो ।

नेपाल सरकारको ६० लाख र नगरपालिकाको ८ लाख ५० हजारमा ल्याइएको दमकल प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले रिबन काटेर उद्घाटन गरे । टेण्डरमार्फत ल्याइएको दमकललाई नेपाली सेनाका जवानले प्रयोग गरेर देखाएका थिए । पहिलोपल्ट जिल्ला भित्रिएको दमकल हेर्न स्थानीय बासिन्दाको भीड लागेको थियो ।

अधिकांश जस्ताको छाना भएको र एकअर्कामा टाँसिएको घरले भरिएको दिक्तेल नगरपालिका आगलागीको उच्च जोखिममा रहेको छ । नगरपालिकाले दमकलसँगै फोहोर उठाउने ट्रिपर समेत सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारबाट प्राप्त भएको ३० लाख मध्ये २६ लाख ५ हजारमा ट्रिपर खरिद गरिएको नगरपालिकाले जनाएको छ । पछिल्लो समय घोषणा गरिएका नगरपालिका मध्य दिक्तेल नगरपालिकामा दमकल तथा ट्रिपर सञ्चालनमा ल्याउने पहिलो भएको अधिकृत ढकालले दाबी गरे । केही दिनपछि ट्रिपरमार्फत नगरभित्रको फोहोर हटाउन सुरु गरिने जनाइएको छ ।

उज्यालोबाट

प्रकाशित मिति: २३ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्