कविता-मङ्गलमय शुभकामना


 


mangal-bade-1

मंगल बाडे

आइपुगेको छ आँगनमा
महान् चाड विजया दशमी
छाएको छ सर्वत्र हर्ष, उमङ्ग र उल्लास
तर, मेरो मन भने विल्कुल छैन खुसी
सम्झेर ती निर्देष आत्माहरुको रोदन र क्रन्दन !

धर्म र संस्कृतिको आडमा
अबोध प्राणीहरुको रगतले
पवित्र मन्दिरहरु भै’रहेछन् अपवित्र !
खै कुन ग्रन्थमा लेखिएको छ
कुन भगवान, कुन भगवतीले
कुन पशु वा पंछीको बलि मागेका छन् ?

कस्तो संस्कार (कुसंस्कार) पाएछौँ हामीले
असङ्ख्य निर्दोष प्राणीहरुको रगतको आहालमा
निरन्तरता आफ्नो परम्पराको
सृष्टिको सर्वश्रेष्ठ प्राणी हामी मानव
तर, दिनप्रतिदिन आफ्नो व्यवहारमा
देखाइरहेछौँ दानवता
आँगनमा दाम्लोले बाँधिएका
लामबद्ध ती अबोध पशु–पंछीहरु
भई आफ्ना प्रियजनहरुबाट अलग
बाध्य बनाइएका छन् बलिमा चढ्न
न त छन् कुनै शब्दहरु पोख्न आफ्ना
मनका भावनाहरु
न त सक्छन् व्यक्त गर्न अन्तरमनका
पीडा र छटपटाहटहरु !

हो, मैले सुनेकी छु प्रत्येक वर्ष
उनीहरुका रोदन र क्रन्दनहरु
मैले देखेकी छु
उनीहरुका आँखाका डिलबाट अविरल
बगेका आँशुका बलिन्द्र धाराहरु
मैले महसुस गरेकी छु
आफ्नो मुक्ति र जीवन रक्षाका लागि
उनीहरुले गरेका अपिल र याचनाहरु !

आफूलाई भए सानो चोट लागे नि
दुख्ने हाम्रो मन
उनीहरुको हत्या र हिंसामा
कसरी सकिरहेछ रमाउन ?
उफ् हाम्रो मानवीयता !

त्यागाँै न आजैदेखि आफ्नो दानवता
मै खाउँ मै लाउँको तुच्छ भावना
छाडेर लोभ लालच, हत्या र हिंसा
छरेर बिज शान्ति, प्रेम र सद्भावको
गरौँ न हामी सबै मिली एउटा महान प्रण
यो वर्षको महान चाडमा
सम्पूर्ण पशु–पंछीहरु पनि
खुल्ला आकाशमुनि स्वतन्त्र भई
बाँच्न पाउने अधिकारको सुनिश्चितता गराऔँ
बाँचौँ आफू र अरुलाई नि बचाऔँ
यही छ मेरो मनोकामना
देश विदेशमा छरिएर रहेका
सम्पूर्ण नेपाली जन–मनहरुमा
महान् पर्व विजया दशमीको
हार्दिक मङ्गलमय शुभकामना !!!

काठमाडौँ मेडिकल कलेज
शिक्षण अस्पताल, सिनामंगल, काठमाडौँ
[email protected]

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्