४३ दिनमा २० हजार भूकम्प


 


सबैभन्दा बढी केन्द्रबिन्दु दोलखा

काठमाडौ, जेष्ठ २३ – बैशाख १२ देखि जेठ २३ सम्मको ४३ दिनमा झन्डै साढे २० हजार वटा भूकम्पका धक्का गएका छन् । बैशाख १२ गते ११ः५६ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पपछि शनिवार (२३ जेठ) सम्म ४ रेक्टर स्केलभन्दा माथिका ३ सय २ वटा पराकम्प गएका छन् ।

३ सय २ मध्ये ६ रेक्टर भन्दा माथिका ४ वटा पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रका भुकम्पविद् मुकुन्द भट्टराईले बताए । ६ रेक्टरमाथिका पराकम्प गोरखा र दोलखा/सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएका थिए । तीनले थप क्षति निम्त्याए ।

४३ दिनमा सबभन्दा बढी दोलखा केन्द्रविन्दु बनाएर पराकम्पन गएका छन् । त्यस्तै, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखा, काभ्रे र काठमाडौंमा पनि बढी केन्द्रविन्दु बनेर पराकम्प गएको जानकारी भट्टराईले दिए ।

बैशाख १२ गतेपछि २३ जेठसम्म गोरखादेखि ओखलढुंगासम्मका जिल्लाका विभिन्न स्थानमा २ रेक्टरभन्दा माथिका, तर ४ रेक्टरभन्दा साना २० हजारभन्दा बढी पराकम्प गएको भुकम्पविद् भट्टराईले बताए । ‘साना कम्पन पनि गोरखादेखि सिन्धुपाल्चोकसम्मै बढी गएको देखिन्छ’, उनले भने । वैशाख १२ पछि तारन्तार पराकम्प गई नै रहेका छन् ।

२०१४ मा भने ४ रेक्टरस्केल भन्दा माथिका ११ वटामात्र भूकम्प गएको केन्द्रको तथ्यांकले देखाउँछ । यस्तै, २०१३ मा पनि २५, २०१२ मा ३६, २०११ मा ४२, २०१० मा १९, २००९ मा १८, २००८ मा २५ वटा भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।

यस्तै, २००७ मा ४ रेक्टरमाथिका २३, २००६ मा १०, २००५ मा २२, २००४ मा २१, २००३ मा १९, २००२ मा १७, २००१ मा १५ र २००० मा १० वटा भूकम्प गएका थिए । केन्द्रले २ रेक्टरभन्दा माथिको भुकम्प रेकर्ड गरे पनि ४ रेक्टरभन्दा माथिकालाई मात्रै सार्वजनिक गर्ने गरेको छ ।

इकान्तिपुर

र यो पनि पढनुहोस्

भूकम्प गइरहने देश

हाइटीको भूकम्पमा यसरी पनि बाँचे मान्छे

नेपाललाई यसरी चै नबनाऊ

प्रकाशित मिति: २३ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्