भाेजपुरमा पहिरोको अध्ययनका लागि भुगर्भविद् टाेली जाँदै


 


सरिता राई
भोजपुर, कार्तिक ५
जिल्ला दैवी प्रकोप उद्धार समिति भोजपुरले पहिरोको उच्च जोखिममा रहेको क्षेत्र अध्ययनको लागि भुगर्भविद् ल्याउने निर्णय गरेको छ ।प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको अध्यक्षतामा बिहिबार अपरान्ह बसेको बैठकले सिद्धेश्वर गाविस वडा नं.८ मा पर्ने भण्डारी टोल पहिरोको उच्च जोखिममा रहेकाले त्यस क्षेत्र अध्ययनको लागि यस्तोे निर्णय गरेको हो ।

बैठकले जिल्लाको उत्तरी कुलुङ्ग र दोभाने गाविसको पहिरोग्रस्त क्षेत्रको समेत अध्ययन गराउने भएको छ । त्यस्तै बैठकले गत असोजयता जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका २१ वटा दैवीप्रकोपका घटनाको सत्य तथ्य अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न जिल्ला प्राविधिक कार्यालयका इन्जीनियर राजनराज रेड्डीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

कार्यदलको सिफारिसको आधारमा दैवीप्रकोप उद्धार समितिले पहिलो पटक ७ घर परिवारलाई राहत वितरण गर्ने र बाँकी घर परिवारलाई राहत वितरणको लागि सिफारिश गर्ने जनाएको हो ।

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्