म्यानमारमा सेनाको गोलीबाट ३८ प्रदर्शनकारीको मृत्यु


 


काठमाडौँ, फागुन २०
म्यानमारमा सेनाले चलाएको गोलीबाट बुधबार एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गएको छ ।

नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका आन्दोलनकारी माथि सेनाले अन्धाधुन्ध गोली चलाएको हो । म्यानमारमा एक महिनादेखि प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ । म्यानमारको सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ ।

सेनाले सबै अधिकार आफ्नो हातमा लिएर सैन्य शासनको घोषणा गरेको छ । चुनावमा सुकीले धाँदली गरेर जितेको सेनाको आरोप छ ।

यसैबीच म्यानमारमा हिंसात्मक गतिविधि बढेको भन्दै छिमेकी देशहरुले संयमता अपनाउन म्यानमारको सेनालाई आग्रह गरिरहेका छन् ।

सेनाले प्रदर्शनकारीहरुको प्रदर्शन दमन गर्ने क्रममा अहिलेसम्म ५० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने धेरै व्यक्ति घाइते अवस्थामा छन् । म्यानमारमा हरेक दिन हिंसात्मक प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्