एनएमबि बैंकले सुरु गर्यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
काठमाडौँ, २५ जेठ । एनएमबि बैंक लिमिटेडले नेपाल र भारतबीच सहज तथा छिटो रूपमा रकम आदानप्रदान गर्न सकिने ‘इन्डो–नेपाल पीटुपी रेमिट्यान्स’ सेवा सुरु गरेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा सुरु गरिएको उक्त सेवामार्फत अब नेपालबाट भारत र भारतबाट नेपालमा सुरक्षित तथा तत्काल रकम पठाउन र प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार नयाँ सेवाले परम्परागत रेमिट्यान्स प्रक्रियामा हुने झन्झट र ढिलाइलाई कम गर्नेछ। भारतबाट पठाइएको रकम एनएमबि बैंकमा रहेको ग्राहकको व्यक्तिगत खातामा तत्काल जम्मा हुने व्यवस्था गरिएको छ।
सेवाअन्तर्गत ग्राहकले लामो बैंक खाता नम्बर प्रयोग गर्नु नपर्ने गरी बैंकले छुट्टै भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) उपलब्ध गराउनेछ। सोही भर्चुअल ठेगानामार्फत रकम पठाउन र प्राप्त गर्न सकिने जनाइएको छ।
ग्राहकहरूले मोबाइल बैंकिङ एप, बैंकको वेबसाइट वा नजिकको शाखामार्फत सेवा सक्रिय गर्न सक्नेछन्। शाखामा गएर कर्मचारीको सहयोगमा पनि सेवा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।
घरायसी खर्च तथा व्यक्तिगत प्रयोजनका लागि भारतबाट रकम प्राप्त गर्न यो सेवा उपयोगी हुने विश्वास बैंकले व्यक्त गरेको छ। ग्राहकको रकम सुरक्षित राख्न बैंकले आवश्यक निगरानी तथा सुरक्षा प्रणालीसमेत प्रयोग गरिरहेको जनाएको छ।
एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार
















