हिमालय डिस्टिलरीको नाफा बढ्यो


 


काठमाडौं, वैशाख २६
जावलाखेल ग्रुफ अफ इन्डष्ट्रीज अन्र्तगत रहेको हिमालय डिस्टिलरीको नाफा बढेको छ । डिस्टिलरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५३.८९ प्रतिशतले नाफा बढाउन सफल भएको हो ।

गत वर्षको यसै अवधि सम्मको कारोवार र यस वर्षको सोही अवधि सम्मको कारोवारलाई तुलना गर्दा गत वर्षको चैत्र मसान्त सम्ममा कुल विक्री रकम रु.३ अर्ब ५७ करोड भएको थियो । यस वर्षको त्यसै अवधि सम्ममा रु ३ अर्ब ८९ करोड भएको छ । यसलाई हेर्ने हो भने गत वर्षको भन्दा ९ प्रतिशतले विक्री रकम वढ्न गएको छ ।

यसै गरी गत वर्षको यसै अवधिको खुद मुनाफा रकम रु. ४३ करोड ७१ लाख भएकोमा यस वर्षको सोही अवधिमा रु. ६७ करोड २७ लाख पुगेको छ । यस खुद मुनाफालाई तुलना गर्दा गत वर्ष भन्दा ५३.८९ प्रतिशत वढि आर्जन हिमालय डिस्टिलरीले गरेको छ । गत आ.व. सम्मको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर वितरण गरी पूँजी वृद्धि गरिए पनि गत वर्षको यसै अवधिको वित्तिय अनुपातहरुसँग तुलना गर्दा यस वर्ष प्रति शेयर आम्दानी रु १००.७६ बाट रु १०३.३८, तरलता अनुपात १.९६ बाट २.७४ भएको छ ।

गत वर्ष प्राप्त कारोवार भन्दा यस वर्षको चैत्र मसान्त सम्मको कारोवार वृद्धिको मूख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप वजारीकरण, उत्पादित व्राण्डको प्रतिष्ठा प्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २६ बैशाख २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्