भारतले तोक्यो निजी अस्पतालले दिने कोरोना खोपको मूल्य


 


काठमाडौं, जेठ २६
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले निजी अस्पतालले दिने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मूल्य तोकेको छ ।

मंगलबार गरिएको घोषणा अनुसार भारतमा अब बायोटेकको कोभ्याक्सिन खोपको मूल्य बढीमा प्रतिडोज १ हजार १४० भारतीय रुपैयाँ लिन पाइनेछ भने सेरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिसिल्डको मूल्य बढीमा प्रतिडोज ७८० भारु तोकिएको छ । त्यस्तै रुसी खोप स्पुतनिक भीको मूल्य भने प्रतिडोज १ हजार १४५ तोकिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले निजी खोप केन्द्रले उचित शुल्कभन्दा धेरै लिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिइएको छ । मन्त्रालयले राज्य र स्थानीय अधिकारीहरुलाई पनि निरन्तर अनुगमन गर्न आग्रह गरेको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप वितरणको नीति परिवर्तन गर्दै जुन २१ देखि १८ वर्षमाथिका सबैलाई सरकारले निःशुल्क खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

उनले आगामी दिनमा खोपको आपूर्ति पनि बढ्ने भन्दै खोप उत्पादकले उत्पादन गरेको ७५ प्रतिशत खोप सरकारले किन्ने बताएका थिए । बाँकी रहेको २५ प्रतिशत खोप भने निजी कम्पनीले किन्न पाउनेछन् ।एजेन्सीहरुको सहयोग मा

प्रकाशित मिति: २६ जेष्ठ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्