भाेजपुर-चखेवा, अाेख्रे र मानेडाँडामा गाडी चल्न थाल्याे


 


bhojpur-busभाेजपुर, कार्तिक १०

बन्द रहेका भाेजपुरका ग्रामीण सडक सञ्चालनमा अाएका छन् । भाेजपुर सदरमुकामबाट चखेवासम्म सिधा बस सेवा सञ्चालनमा आएको छ । वर्षायाम सुरु भएसँगै बन्द भएकाे याे ठाउँकाे यातायात सेवा लामाे समयछि सञ्चालनमा अाएकाे हाे । बर्षायाममा सडक बिग्रदा गाडी चल्न सकेका थिएनन्, जसका कारण यात्रुहरू सास्ती खेप्न बाध्य थिए ।

यातायात सेवा सञ्चालनमा आएपछि बस व्यवसायीले जिल्लाबाट विभिन्न दुरीमा सञ्चालन गरिने यातायात सेवाको समय तालिकासमेत सार्वजनिक गरेका छन् । तालिकाअनुसार भोजपुरबाट जिल्लाको पश्चिमी क्षेत्र खोटाङको सिमाना चखेवा भन्ज्याङका लागि दैनिक ३ वटा (बिहान, दिउँसो र साँझ) बस सञ्चालन हुनेछन् ।

चखेवा मात्र हाेइन जिल्लाकाे अन्यन्त्र ठाउँमा पनि बन्द सडक यातायात चल्न थालेका छन् । ओख्रे र माने डाँडाका लागि दैनिक १÷१ वटा बसले सेवा दिने नेपाल यातायात मजदुर संघ भोजपुरका अध्यक्ष महेश राईले जानकारी दिए ।

यसअघिका वर्षमा सदरमुकामबाट चखेवा, ओख्रे, भुल्के, बैकुण्ठे मानेडाँडालगायत स्थानमा बस सेवा सञ्चालन हुँदै आएको थियो । गएका वर्षहरूमा दसैंअगाडिबाटै यातायात सेवा सञ्चालन हुँदै आएको भए पनि यस वर्ष पहिरोले सडकका अधिकांश ठाउँमा क्षति गरेपछि यातायात सञ्चालनमा आउन ढिलाइ भएको हो ।

यातायात सेवा अवरुद्ध हुँदा सर्वसाधारणहरू सदरमुकाम आउन २ दिनसम्मको पैदल यात्रा गर्न बाध्य थिए । सडक खराब भएपछि एम्बुलेन्स सेवासमेत प्रभावित हुँदा बिरामीलाई डोकोमा बोकेर अस्पताल ल्याइँदै आइएको थियो ।

सडक बने पनि यातायात सेवा अवरुद्ध भएका दुरीका सडकहरू पनि धमाधम मर्मत भइरहेको र मर्मत कार्य सकिएपछि यातायात सेवा सुचारु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ग्रामीण क्षेत्रमा यातायात सेवा सुचारु भएपछि सर्वसाधारणलार्इ अावतजावतमा सहज भएकाे छ ।

प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्