अल्मुताइरी भन्छन्, ‘आई एम आउट’


 


काठमाडौं, साउन १०
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने संकेत गरेका छन्।

अल्मुताइरीले बुधवार फेसबुक स्ट्याटसमार्फत आफूले राष्ट्रिय टोलीको प्रशिक्षण छाड्न सक्ने संकेत गरेका हुन्। उनको र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङबीचको विवाद बारे छानविन समितिले प्रतिवेदन बुझाएसँगै अल्मुताइरीले फेसबुकमा यस्तो स्ट्याटस राखेका हुन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानविन समितिले अल्मुताइरीलाई विवाद सिर्जना हुने कुनै पनि कार्य नगर्न, एन्फासँगको सम्झौता बमोजिम कार्य गर्न र सामाजिक सञ्जालमा कोही पनि व्यक्तिप्रति लक्षित गरेर आफ्नो धारणा नराख्न सुझाव दिएको थियो। त्यस्तै समितिले उनले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङ प्रति लक्षित गरेर लेखेको साउन १० को फेसबुक स्ट्याटस हटाउन निर्देशन समेत दिएको थियो।

त्यसपछि बुधवार साँझ प्रशिक्षक अल्मुताइरीले फेसबुकमा नयाँ स्ट्याटस लेखेका छन्। “आई एम आउट, अब काम राजनीतिले नै गरोस्”, उनको यो स्ट्याटस समितिले बुझाएको प्रतिवेदनतर्फ लक्षित देखिन्छ।

अहिले नेपाली राष्ट्रिय फुटबल टोली पोखरामा बन्द प्रशिक्षण गर्दैछ। नेपालले आगामी अक्टोबर १ देखि सुरु हुने साफ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुर्याएको छ। त्यसअघि नेपालले घरेलु मैदानमा आगामी सेप्टेम्बर २ र ५ मा भारतसँग दुई मैत्रीपूर्ण खेल पनि खेल्दैछ।

प्रकाशित मिति: १० भाद्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्