आज देवकोटाको १०८ औं जन्मजयन्ती


 


laxmi-prasad-devkotaकाठमाण्डौ, कार्तिक १४

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्ती देश–विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

विक्रम संवत् १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्य लक्ष्मीदेवी देवकोटाका साहिँलो छोराका रुपमा काठमाडौंको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो ।

दश वर्षको उमेरबाट साहित्य रचना लेखन थालेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृति प्रेम र समाज सुधारका भाव पाइन्छन् ।

देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भएको पाइन्छ । तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने अलौकिक क्षमता देवकोटासँग थियो । उनको खण्डकाव्य मुनामदन त नेपालमा धेरै बिक्री हुने साहित्यिक कृतिमा पर्दछ ।

महाकवि देवकोटाका प्रमुख कृतिमा सुलोचना, प्रमिथस, शाकुन्तल, महाराणाप्रताप, भक्त प्रह्लादलगायत ६ वटा महाकाव्य र मुनामदन, कुञ्जिनी, सावित्री सत्यवान, वनकुसुम जस्ता २१ वटा खण्डकाव्य छन् ।

उनका ६ सय ४४ फुटकर कविता भेटिएका छन् । यस्तै दुईवटा निबन्ध संग्रह, एउटा उपन्यास उनले रचना गरेका छन् ।

महाकवि देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो ।

प्रकाशित मिति: १४ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्