टी–२० विश्वकपमा भारतको पहिलो जित, सेमिफाइनल पुग्ने सम्भावना कति ?


 


एजेन्सी, कार्तिक १८
आइसिसी टि२० विश्वकप २०२१ मा भारतले पहिलो जित निकालेको छ। सुपर १२ को समूह २ मा रहेको भारतले बुधबार राती अफगानिस्तानलाई ६६ रनले हराएको हो।

जितसँगै भारतले सेमिफाइनलको झिनो अंक गणीतिय आशा कायमै राखेको छ। जितको लागि २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो। अफगानिस्तानका करिम जन्नत २२ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे। मोहम्मद नाबीले ३२ बलमा २ चौका र १ छक्का सहित ३५ रन बनाए।

ओपनर हज्रातुल्लाह जजाई १३, मोहम्मद शाहजाद शून्य र रहमानउल्लाह गुर्बाज १९ रनमा आउट भए। गुलबदीन नइब १८ र नाजिबउल्लाह जद्रान ११ रनमा आउट भए।

भारतका तीव्र गतिका बलर मोहम्मद शामीले ४ ओभरमा ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए। जस्प्रित बुमराह र रविन्द्र जडेजाले १–१ विकेट लिए।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो। भारतका ओपनर रोहित शर्माले ४७ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७४ रनको योगदान दिए। केएल राहुल ४८ बलमा ६ चौका र २ छक्का सहित ६९ रनमा बोल्ड आउट भए ।

विकेटकिपर ऋषभ पन्त १३ बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे। हार्दिक पान्ड्या १३ बलमा ४ चौका र २ छक्का सहित ३५ रनमा अविजित र अफगानिस्तानका करिम जन्नत र गुलबदी नाईबले १–१ विकेट लिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । शुक्रबार भारतले स्कटल्यान्डसँग खेल्नेछ । सोमबार नामिबियासँग खेल्नेछ ।

यी दुबै खेलमा भारतले फराकिलो जित निकालेर मात्र सेमिफाइनलमा पुग्न सक्दैन । न्युजिल्यान्डले बाँकी दुई खेल मध्ये एक खेल हारेको खण्डमा मात्र नेटरनरेटको झिनो आशा बच्नेछ । न्युजिल्यान्डले शुक्रबार नामिबिया र आइतबार शुक्रबार खेल्नेछ ।

प्रकाशित मिति: १८ कार्तिक २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्