रूस-युक्रेन तनाव: कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा


 


काठमाडौँ, फागुन १२
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको हो ।

दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको थियो । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।

युक्रेन र रूसबीच जारी संकटको दूरगामी असर पर्ने विज्ञहरू बताउँछन् । रुसमाथि कुनै पनि प्रतिबन्धले विश्वमा कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्तिमा कमी आउने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने उनीहरूले बताएका छन् ।

रूसले युक्रेनी पृथकतावादीहरूको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई मान्यता दिँदै आफ्नो सेनालाई ती क्षेत्रमा पठाएसँगै बेलायत र अन्य धेरै पश्चिमी मुलुकले रूसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यका रुपमा मान्यता दिएपछि यूक्रेनी सङ्कटसँग जुध्न आफ्नो सहकार्य रहने उनीहरूले बताएका छन् ।
स्वघोषित जनवादी गणतन्त्र डोनेस्क र लुहान्स्क रुसी समर्थित विद्रोहीहरूको बाक्लो उपस्थिति छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्