रुस र युक्रेनबीच बेलारुसमा भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन


 


काठमाडौँ, फागुन १७
रुस र युक्रेनबीच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन सकिएको छ । दुई देशबीच द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको पहिलो चरणको वार्ता कुनै सम्झौताविना नै सकिएको हो ।

रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेडिन्स्कीले युक्रेनी अधिकारीसँग झण्डै पाँच घण्टा वार्ता भएको तर वार्तामा कुनै प्रगति हुन नसकेको बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका शीर्ष सल्लाहकार मिखाइलो पोडोल्याकले वार्ता सम्भावित युद्धविराममा केन्द्रित भएको र दोस्रो चरणको वार्ता छिट्टै हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

युक्रेनको सीमा नजिक बेलारुसमा भएको पहिलो चरणको वार्तामा युक्रेनले रुसले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने र आफ्ना सेना फिर्ता गर्नु पर्ने सर्त राखेको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताएका थिए । रुसका अनुसार दुवै पक्ष वार्ता जारी राख्न सहमत भएका छन् र आगामी केही दिनभित्र फेरि वार्तामा बस्ने सहमति भएको छ । रुसले युक्रेनमा आक्रमण गरेको आज छैटौँ दिन हो । युक्रेनमा आक्रमणका घटना जारी छन् ।

युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन् । अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन् । उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन् ।

प्रकाशित मिति: १७ फाल्गुन २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्