नेपाल बैंकले देशैभरी भब्य रुपमा मनायो “ग्लोबल मनि विक”


 


काठमाडौं, चैत १६
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले देशै भरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी ग्लोबल मनि विक भब्य रुपमा सम्पन्न गरेको छ ।

बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेक वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको जनाएको छ ।

ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनि विक को स्थायी नारा “लर्न सेभ अर्न” लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

बैंकका सात वटै प्रदेश अन्तर्गतका शाखाहरुले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न बर्गका व्यक्तिहरु लाभान्वित हुने गरी विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

बागमती प्रदेश अन्तर्गत १७, लुम्विनी प्रदेश अन्तर्गत २५, प्रदेश नं १ अन्तर्गत २३, मधेश प्रदेश अन्तर्गत १९, सुदुरपश्चिम र कर्णाली प्रदेश अन्तर्गत ३ वटा शाखाहरुमा गरी कुल ८७ वटा स्थानमा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको र ती कार्यक्रमहरुमा करिब ५ हजार सहभागी रहेका थिए ।

नेपाल बैंकले यस आर्थिक बर्षको योजना तथा कार्यक्रममा नै वित्तीय साक्षरतालाई बिशेष जोड दिएको र सोही अनुरुप वित्तीय साक्षरता अभियान यो बर्षभरी नै सञ्चालन हुने बैंकले जनाएको छ । हालसम्म बैंकले आफ्ना १६० शाखाहरुबाट करिब १५ हजार सहभागिहरुलाई वित्तीय साक्षरता प्रदान गरिसकेको छ ।

नेपाल बैंक लिमिटेडका नेपालभर २१३ शाखाहरु, १५० एटिएम साथै ५० वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको जनाएको छ ।

यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगा८ड बढिरहेको छ । नेपाल बैंकले डिजिटल कारोवारलाई जोड दिएसंगै यस बैंकका डिजिटल सुविधाहरु प्रयोग गरी कारोवार गर्ने ग्राहकहरुको संख्या दिन प्रतिदिन बढिरहेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीको भनाई छ ।

प्रकाशित मिति: १६ चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्