विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित


 


एजेन्सी, चैत्र २०
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।

‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरी गर्भाधारणको इच्छा नहुँदानहुँदै पनि गर्भवती हुन बाध्य भइरहेको जनाउँदै युुएनएफपिएले यसलाई विश्वव्यापी सङ्कट भनेको छ । उसले हरेक वर्ष विश्व जनसङ्ख्याको स्थितिसम्बन्धी प्रतिवेदन सार्वजानिक गर्दै आएको छ ।

प्रतिवेदनअनुसार गर्भाधारणबाट प्रभावित भएका महिला तथा किशोरीका लागि गर्भवती हुने वा नहुने भन्ने प्रजनन छनोटको विकल्प नै छैन । आफ्नो जीवन नै परिवर्तन गरिदिने गर्भाधारणजस्तो अवस्था पनि उनीहरुको छनोटको पहुँचभन्दा बाहिर देखिएको छ, संयुक्त राष्ट्रसङ्घको यौनिक तथा प्रजनन स्वास्थ्यसम्बन्धी संस्था युुएनएफपिएद्वारा जारी प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२२ को प्रतिवेदन अनिच्छित गर्भाधारणको विषयमा केन्द्रित छ । ‘सिइङ द अनसिन ः द केश फर एक्सन इन द नेग्लेक्टेड क्राइसिस अफ अनइन्टेन्डेड प्रिग्नेन्सी’ शीर्षक दिइएको छ । यस वर्षको सो प्रतिवेदनले मानवअधिकारको क्षेत्रमा देखिएको यस्तो सङ्कटले समुदाय, महिला तथा किशोरी र विश्व स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सन् २०१७ को तथ्याङ्कानुसार नेपालमा अनुमानित १२ लाख गर्भाधारण भएकामध्ये झण्डै आधा अनिच्छित गर्भाधारण थियो । यसमध्ये करिब तीन लाख ५९ हजारले गर्भपतन गराए । नेपालमा कानुनी मान्यता प्राप्त गरेको गर्भपतनले मातृ मृत्युदर घटाउन महत्वपूर्ण योगदान गरे तापनि अधिकांश गर्भपतन अहिले पनि अदक्ष सेवा प्रदायक वा गर्भवती महिला आफैँले औषधि वा अन्य कुराको प्रयोग गरी गर्ने गरेका छन् ।

प्रकाशित मिति: २० चैत्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्