श्रीलंकामा कानुन तोड्नेलाई गोली हान्ने आदेश


 


एजेन्सी, वैशाख २८
श्रीलंकामा कानुन तोड्ने जोकोहीलाई देख्नासाथ गोली हान्ने आदेश दिइएको छ । सरकार विरोधी हिंसात्मक प्रदर्शन साम्य पार्न सुरक्षाकर्मीलाई यस्तो आदेश दिइएको हो ।

श्रीलंकाको इतिहासमै पहिलो पटक देखिएको सबैभन्दा विकराल आर्थिक समस्यालाई लिएर प्रदर्शनकारीहरूले राष्ट्रपति गोतावाया राजपाक्षेको राजीनामा मागिरहेका छन् ।

प्रहरी र प्रर्दशनकारीहरूबीच सडकमा हिंसात्मक भिडन्त भएपछि सोमबार उनका दाजु महिन्दा राजपाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर प्रधानमन्त्रीको राजीनामाले पनि स्थितिलाई शान्त पार्न सकेन । रातभरि पनि हिंसा जारी रहेको थियो ।

तसर्थ मंगलबार सरकारले सार्वजनिक सम्पत्ति लुटपाट गर्ने वा कसैको जीवनमा खतरा पु¥याउन खोज्ने जोकोहीलाई पनि देख्नासाथ गोली हान्न सेनालाई आदेश दिएको हो । यस्तै सोमबार राति श्रीलंकामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरुको घरमा आगजनी भएको छ ।

उनीहरुले पनि अन्यत्र शरण लिएर बसिरहेको बताइएको छ । सोमबारदेखि मंगलबारको अवधिमा सात जनाको मृत्यु भइसकेको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीले गाडीहरुमा आगजनी र तोडफोड गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेको घर अगाडि ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन् ।

प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्