सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, तीन नयाँ मन्त्री र दुई राज्यमन्त्री नियुक्त
धनगढी, २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। नेपाली कांग्रेसले आफ्ना तीन मन्त्री र दुई राज्यमन्त्रीलाई फिर्ता बोलाएपछि नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गरिएको हो।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँको उपस्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार साँझ पद तथा गोपनीयताको शपथ गराउनुभयो।
पुनर्गठनअनुसार विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री नियुक्त हुनुभएको छ। त्यसैगरी मानबहादुर रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने बेलबहादुर रानामगर सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको छ।
यस्तै, जुना दानी भौतिक पूर्वाधार विकास राज्यमन्त्री तथा मधु भारती सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनुभएको छ।
नेपाली कांग्रेसले आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्ट तथा राज्यमन्त्री सरस्वती खड्का र प्रकाशबहादुर बमलाई फिर्ता बोलाएपछि मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार
















