साउनदेखि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने तयारी
काठमाडौँ, २५ जेठ । नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनदेखि सञ्चालन गर्ने तयारी गरिएको छ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले आवश्यक तयारी पूरा गरी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बताएका छन्। उनका अनुसार हाल टोल शुल्क संकलन गर्ने कम्पनीसँग सम्झौता भइसकेको छ भने प्राविधिक परीक्षण तथा कर्मचारी तालिमका काम भइरहेको छ।
उनले सुरुङमार्गभित्र उद्धार व्यवस्थापन, आपत्कालीन प्रतिक्रिया, प्रकाश तथा भेन्टिलेसन प्रणालीको परीक्षण र सञ्चालनसम्बन्धी तयारी भइरहेको जानकारी दिएका छन्।
सुरुङमार्ग चौबिसै घण्टा सञ्चालन गर्न १५० जना कर्मचारी भर्ना गरिएको र उनीहरूलाई सिफ्टका आधारमा परिचालन गरिने बताइएको छ।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबारको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको भौतिक प्रगति ९९.५ प्रतिशत तथा वित्तीय प्रगति ९६ प्रतिशत पुगेको जानकारी दिएका छन्।
सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन–एआरटी जेभीबीच सम्झौता भइसकेको छ। उक्त कम्पनीले आगामी पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन र मर्मतसम्भारको जिम्मेवारी पाएको छ। कम्पनीले सिभिल संरचना, मेकानिकल, इलेक्ट्रिकल तथा सुरक्षासम्बन्धी प्रणालीको नियमित रेखदेख तथा मर्मत गर्नुपर्नेछ।
सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रु तथा मालवाहक सवारीसाधनले लामो र घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यताबाट केही राहत पाउने अपेक्षा गरिएको छ। आयोजनाका अनुसार मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार ६८८ मिटर र आपत्कालीन सुरुङको लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ।
आयोजना प्रमुख नेपालले दैनिक करिब आठ हजार सवारीसाधन सुरुङमार्गबाट आवतजावत गर्ने अनुमान गरिएको बताएका छन्। सो आधारमा वार्षिक करिब ३५ करोड रुपैयाँ टोल शुल्क संकलन हुने अनुमान गरिएको छ। वार्षिक २२ करोड रुपैयाँ सेवा प्रदायक कम्पनीलाई उपलब्ध गराउनुपर्नेछ, जसअनुसार पाँच वर्षमा कुल एक अर्ब १० करोड रुपैयाँ खर्च हुने जनाइएको छ।
टोल शुल्क संकलनका लागि विशेष प्राविधिक उपकरण जडान गरिएको छ। संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुने र सेवा प्रदायक कम्पनीलाई सरकारले भुक्तानी गर्ने व्यवस्था रहेको छ।
समितिको बैठकमा सांसदहरूले निर्माण सम्पन्न भइसकेको आयोजना सञ्चालनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन्। उनीहरूले सुरुङ निर्माणका क्रममा प्राप्त सीप र अनुभवलाई अन्य आयोजनामा समेत उपयोग गर्न तथा दक्ष र अर्धदक्ष श्रमिकको क्षमताको सम्मान गर्न सुझाव दिएका छन्।
कोभिड–१९ महामारी, प्राकृतिक विपद् तथा अन्य कारणले निर्माणमा केही ढिलाइ भए पनि आयोजना सम्पन्न भइसकेकाले अब सञ्चालनमा थप ढिलाइ गर्न नहुनेमा सांसदहरूले जोड दिएका छन्।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार
















