भारतमा सवारी दुर्घटनामा परी ४ नेपाली बेपत्ता


 


प्यूठान, मंसिर ३

भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा बिहीबार नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन् । एउटै ठाउँमा दिनभरिको काम सकेर बेलुका कम्पनीको गाडीमा फर्कने क्रममा पुलबाट बस नदीमा खसेको थियो ।

त्यस बसमा आठ नेपाली र सवारीचालक परेको दुर्घटनास्थलमा पुग्नुभएका प्यूठान बेलाबास–७ का चेतनारायण घिमिरेले जानकारी दिए ।दुर्घटनामा परी प्यूठान खाल–१ का गोमन घर्ती र श्यामबहादुर पुन, खाल–९ का हिमलाल तिर्के र रोल्पा घोडागाउँका मधु केसी बेपत्ता भएका छन् ।

दुर्घटनामा परेका भिंगृ–६ प्यूठानका पदमबहादुर रोका, भिंगृ–८ का जङ्गबहादुर विक र उक्टबहादुर आले, भिंगृ–४ का सुरेश रोकालाई माछा मार्ने स्थानीयवासीले उद्धार गरेका छन् । दुर्घटनास्थलमा अहिले बेपत्ताको खोजी जारी रहेको मूलप्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले जनाएको छ ।

उद्धार र बेपत्ताको खोजीका लागि नगर सहसचिव रमेश नागरी, सदस्य बाबुराम केसी र शेरबहादुर विक नेतृत्वमा नेपालीहरु घटनास्थलमा पुगेका छन् ।

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्