सुन्तलेमा अागलागी, दुई घर जलेर नष्ट


 


खाेटाङ, मंसिर ५

खोटाङको सुन्तलेमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । खोले पकाउनेक्रममा सल्किएको आगोले सुन्तले–८ का ललितबहादुर मगर र पदमबहादुर मगरको घर जलेर नष्ट भएको हो ।

आगलागीमा ललितबहादुरको ४० तोला चाँदी, २५ हजार नगद तथा घरमा रहेका सबै सामान जल्दा १५ लाख ४८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै, पदमबहादुरको नगद १० हजार र घरभित्र भएका सबै थोक जल्दा ११ लाख ८९ हजार बराबरको क्षति भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताए ।

एउटै आँगन भएको मगरद्धयको घरमा शुक्रबार आगलागी भएको भएपनि भौगोलिक विकटता र फोन नलाग्ने समस्याका कारण ढिलागरी जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्