रोमानियामा गायक प्रकाश सपुतमाथि बोतल प्रहार


 


काठमाडौं, असार ११ । रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार भएको छ । नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् ।

‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सीधै सपुतको अनुहारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेको बताइएको छ ।

मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिए ।

याद नेपाली म्युजिक फेस्टिभल भाग–२ नामकरण गरिएको यो कन्सर्टमा प्रीति आले र प्रकाश सपुत सहभागी भएका थिए ।

कार्यक्रमलाई रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका थिए । आयोजकले घटनामा बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।

बोतल प्रहारको घटनालाई लिएर संगीतकर्मीले विरोध गरिरहेका छन् । सोमबार बिहानैदेखि यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

प्रकाशित मिति: ११ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्