एभरेष्ट बैंकको नाफा ३ अर्ब ३९ करोड, लाभांश क्षमता ४० प्रतिशत


 


काठमाडौं, साउन २१
एभरेष्ट बैंकले झण्डै साढे तीन अर्ब खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकको खुद नाफा ३६.८५ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको चौंथो त्रैमासमा भने बैंकले २ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी पनि ४३.७४ प्रतिशतले वृद्धि भई ७ अर्ब ४४ करोड ८० लाख ७४ हजार रुपैयाँ पुगेको छ । यस्तै, समिक्षा अवधिमा बैंकको संचालन नाफा ४ अर्ब ८४ करोड ७० लाख ५१ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.५० प्रतिशतले बढी हो ।

बैंकको वितरणयोग्य नाफा पनि बढेर ४ अर्ब ३३ करोड ३२ लाख ५ हजार रुपैयाँ पुगेको छ । बैंकको हाल कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ रहेको छ । यस वर्ष बैंकले आफ्ना सेयरधनीहरुलाई ४०.५० प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । यो अन्य बैंकहरुको तुलनामा उच्च हो ।

बैंकले जगेडा तथा कोषमा पनि १० अर्ब २२ करोड ७३ लाख ४९ हजार रुपैयाँ राखेको छ । बैंकको खराब कर्जा पनि १ प्रतिशतभन्दा कम छ । हाल बैंकसंग शून्य दशमलव ७९ प्रतिशत मात्रै खराब कर्जा छ ।

बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्