Deshko News
१८ आश्विन २०८०, बिहिबार

एनआरएनए विश्व सम्मेलन असोज ३० देखि काठमाडौंमा हुने



काठमाडौं, साउन २२
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलन तथा महाधिवेसन असोज ३० देखि कात्तिक ३ गते (अक्टोबर १७–२०) सम्म काठमाडौँमा हुने भएको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले आइतवार बसेको पदाधिकारी बैठकले युवा, विज्ञ सम्मेलनसमेत सोही अवधिमा गर्ने औपचारिक निर्णय गरेको जानकारी दिए ।

बैठकले संघको आगामी महाधिवेसनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ । डा. केसीका अनुसार संघको युवा तथा महिला पदाधिकारीहरूको लागि ७५ र अध्यक्ष सहित अन्य पदाधिकारीहरूको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएको छ।

यसअघि अध्यक्ष पदका लागि १० लाख र अन्य पदका लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क भएका कारणले संघको आलोचना हुँदै आएको थियो । बैठकले संघको केन्द्रीय महाधिवेसन प्रतिनिधिहरूको दर्ता अगस्ट १० देखि २५ तारिखसम्म खुला गर्ने भएको छ ।

पहिलो चरणमा ९० प्रतिशत पूर्वपदाधिकारीले ‘स्मार्ट एनआरएनए’ एप मार्फत आफैँले प्रतिनिधि दावी गर्न सक्ने संघले जनाएको छ । बाँकी १० प्रतिशत संघका राष्ट्रिय समितिको कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयबाट केन्द्रमा सिफारिस गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ ।

बैठकले असन्तुष्ट पक्षसँग गत जुन महिनामा भएको सहमतिलाई आगामी १२ अगस्टमा हुने विशेष अधिवेशनबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

यस्तै गत हप्ता गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभामा अध्यक्ष रविना थापा लगायत संघका केन्द्रीय पदाधिकारीहरूमाथि भएको अपमानजनक व्यवहारको निन्दा गर्दै निवर्तमान कार्यसमितिलाई पत्र मार्फत सचेत गराउने निर्णय गरेको छ ।

बैठकले संघको ११औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि हुने निर्वाचनको तयारी सुरु गर्न यसअघि गठित निर्वाचन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै, बैठकले संघका नयाँ निर्वाचित राष्ट्रिय समितिका अध्यक्ष तथा कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिने निर्णय गरेको छ । संघको निर्वाचन सम्बन्धी कार्यतालिका भने पछि निर्वाचन समितिले सार्वजनिक गर्ने बताएको छ ।

संघको नयाँ नेतृत्वको लागि डा. बद्री केसी, रविना थापा, डा. हेमराज शर्मा, महेश श्रेष्ठ र आरके शर्माले आआफ्नो तयारी सुरु गरेका छन् ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News