चिसो बढेपछि प्रहरी चौकी गाभिन थाले


 


मुस्ताङ, मंसिर १६

अत्याधिक चिसो बढेपछि मुस्ताङको उपल्लो क्षेत्रमा स्थापित प्रहरी चौकी एकआपसमा गाभिन थालेका छन् । चिसोका कारण लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, घमी र सुर्खाङका सर्वसाधारण मङ्सिर पहिलो सातादेखि नै बेँसी झर्न थालेपछि सर्वसाधारणको चहलपहल घटेका कारण प्रहरी चौकी अस्थायीरुपमा गाभिएको हो ।

घमी, सुर्खाङ, छोन्हुपका प्रहरी चौकीलाई लोमान्थाङ, छुसाङ, मुक्तिनाथ र जोमसोममा अस्थायी रुपमा मर्ज गरिएको प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताए । चिसोमा इन्धन, दैनिक उपभोग्य सामान लगायतका पूर्वाधारको समस्या हुने र हिमाली क्षेत्रका प्रहरीलाई सरकारले ठाउँ अनुसारको पोसाकको व्यवस्था नगर्दा जाडो समयका लागि प्रहरी चौकी मर्ज गर्नु परेको प्रनाउ योगीले जानकारी दिए ।

“बेँसी झरेका सर्वसाधारण गाउँ फर्कनेबित्तिकै प्रहरीचौकी पुनः स्थापित हुनेछन्”, प्रनाउ योगीले भने । घुम्ती व्यापार गर्न उपल्लो ६ गाविसका सर्वसाधारण मङ्सिर पहिलो सातादेखि फागुन अन्तिम हप्तासम्म देशका विभिन्न जिल्लामा पुग्ने गर्छन् ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्