सन्दीपको मुद्दामा फेरि पीडितको जन्ममितिको कागजात मगाउन आदेश


 


काठमाडौं, भदौ २१ । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको छ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले फेरि पीडितको जन्ममितिको कागजात मगाउन आदेश दिएको हो।

आज सरकारी वकिल सुरवीर परियारले बहस गरेका थिए। यसका साथै पीडितका पक्षबाट पनि मोहना अन्सारी, नारायण चौलागाईंले बहस गरेका थिए।

सन्दीपका वकिल सरोज घिमिरेले भने बसाइ सर्नु अघिको नगरपालिकाको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुनसक्ने भन्दै त्यो कागजात मगाउन माग गरेपछि न्यायाधीश कार्कीको इजलासले बसाइ सरी जानुअघिको पालिकाबाट फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको हो।

यसअघि अदालतले बसाइ सरी गएको पालिकाबाट जन्ममिति भएको कागजात मागेको थियो। बहस सके पनि निर्णय नआइसकेको अदालतले जनाएको छ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्