‘पशुपतिप्रसाद : २ भष्मे डन’ को ट्रेलर सार्वजनिक


 


काठमाडौं, असोज २३ । चलचित्र ‘पशुपतिप्रसाद ः २ भष्मे डन’ को ट्रेलर सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता, निर्माता एवं लेखक खगेन्द्र लामिछानेले पशुपतिप्रसादलाई कसरी लजिकल सिक्वेल बनाउने भन्ने चुनौति रहेको र ४ वटा जति ड्राफ्टमा काम गरेको बताए । उनले पशुपतिप्रसाद १३ दिनमा सुटिङ सकिएपनि भष्मे डन ५६ दिन लागेको बताए ।

चलचित्र कात्तिक ४ गते फूलपातीको दिन रिलिज हुनेछ । सार्वजनिक ट्रेलरमा प्रेम, जिम्मेवारी र बदलाको कथा देख्न सकिन्छ । ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् ।

दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को कथा भन्छ ।

चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगरलगायत कलाकारको अभिनय छ । खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्टसको ब्यानरमा निर्माण भएको सिनेमाका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन् ।

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्