मेनुका पौडेललाई हिन्दी फिल्म ‘सलार’ मा पार्श्व गायनको अवसर


 


काठमाडौँ, मंसिर २५ । गायिका मेनुका पौडेलले भारतीय फिल्म ‘सलार’मा पार्श्व गायनको अवसर पाएकी छन् ।

भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो प्रस्तुति मार्फत सबैको मन जित्दै आएकी उनले फिल्ममा पनि पा्रर्व गायनको अवसर प्राप्त गरेकी हुन् ।

आइतबार राति सोनी टेलिभिजनमा प्रसारित शोमा मेनुका आफैले आफूले ‘सलार’मा गीत गाउने अवसर पाएकोमा खुसी साटेकी हुन् । सो एपिसोडमा मेनुकाले स्टुडियो पुगेर गीत गाएको अंश समेत प्रसारण गरिएको थियो ।

मेनुकाले संगीतकार रवि बसरुरको संगीतमा ‘सलार’को एक गीतमा स्वर दिएकी हुन् । उनले फिल्ममा गाउनका लागि अवसर मिलेकोमा निर्णायक र दर्शकसामू खुशी साटेकी थिइन् ।

‘इन्डियन आइडल’को ‘टप १४’मा पुगेकी उनलाई उपाधिको दाबेदारको रुपमा लिने गरिएको छ । मेनुकाले २०७४ सालमा नेपालको गायन रियालिटी शो ‘नेपाल आइडल’मा समेत भाग लिएकी थिइन् ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्