एउटै पालीमा ३ सय रन बनाउने किर्तिमान भारतका नायरको नाममा पनि


 


एजेन्सी ।
भारतका करुण नायरले इंग्ल्याण्डसँगको पाँचौ तथा अन्तिम टेष्टको पहिलो पालीमा एक्लैले ३ सय रन बनाएका छन् ।

उनको नट आउट ३ सय ३ रनको मद्दतले पहिलो पालीमा भारतले ७ विकेटको क्षतिमा ७ सय ५९ रनमा पाली समाप्तीको घोषणा गरेको छ ।

यो सँगै भारतले चौथो दिनको खेल समाप्त हुँदा २ सय ८२ रनको अग्रता लिएको छ । नायर सँगै भारतका अर्का खेलाडी लोकेश राहुल दोहोर शतक पूरा गर्नबाट १ रनले बञ्चित भएका थिए ।

सो पालीमा भारतले बनाएको ७ सय ५९ रन टेष्ट क्रिकेटमा बनाएको अहिलेसम्मकै उच्च रन हो ।
२५ वर्षे नायरले बनाएको ३ सय ३ रन टेष्ट क्रिकेटमा बनेको २७ औं धेरै रन हो ।

नायर तेहेरो शतक पूरा गर्ने भारतका दोश्रो ब्याट्सम्यान भएका छन् । यसअघि भारतकै विरेन्द्र सहबागले पाकिस्तानसँगको खेलमा ३ सय ९ रन बनाएका थिए । टेष्ट क्रिकेटमा सबैभन्दा धेरै ४ सय रन बनाउने कीर्तिमान भने वेष्ट इण्डिजका ब्रायन लाराको नाममा छ ।

भारतसँग पहिलो पालीमा ४ सय ७७ रन बनाएको इंग्ल्याण्डले यो टेष्ट हार्नबाट जागिन अन्तिम दिन अर्थात मंगलबार दिनभर टिक्नु पर्ने छ ।

प्रकाशित मिति: ४ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्