चलचित्र ‘गोर्खा वारियर’मा पुर्खाले भोगेका वास्तविक घटनाकाे चित्रण


 


खोटाङ, फागुन २९ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ ।

खोटाङकै भूमिमा जन्मिएर ब्रिटिस आर्मी ९बेलायती सेना०को विमान चालक क्याप्टेन रितेश चाम्सको मुख्य भूमिकामा निर्माण गरिएको चलचित्र ‘गोर्खा वारियर’ यही फागुन २८ गतेदेखि चैत १ गतेसम्म दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा विशेष च्यारिटी शोको व्यवस्था गरिएको हो । 

दिक्तेलमा प्रदर्शन गरिएको चलचित्र गोर्खा वारियरको च्यारिटी शोको पहिलो दिन हल भरिएको आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिनुभयो । चार दिनसम्म सञ्चालन हुने विशेष च्यारिटी शोअन्तर्गत हरेक दिन बिहान ११, अपराह्न २ र बेलुका ५ बजे गरी तीन शो राखिएको आयोजकले जनाएको छ । 

खोटाङकै निर्माता र खोटाङकै नायकले तयार पार्नुभएको चलचित्र गोर्खा वारियरको विशेष च्यारिटी शोअन्तर्गत पहिलो दिनको शोमा जिल्लास्थित उच्चपदस्थ व्यक्त सहभागी थिए । संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिलगायतले अवलोकन गरेका छन् । 

चलचित्र गोर्खा वारियरले पुर्खाहरुले भोगेका वास्तविक घटनालाई चित्रण गरेको पाइएको संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य राईले बताउनुभयो । चलचित्र गोर्खा वारियर पुर्खाका इतिहास बुझ्न भावी पुस्ताका लागि सजिलो भएको दर्शकले प्रतिक्रिया दिएका छन् । 

चलचित्र गोर्खा वारियर पुर्खाहरुको वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको नायक क्याप्टेन रितेशले बताउनुभयो । “चलचित्र गोर्खा वारियरमा ७० वर्षअघिको इतिहासलाई देखाउन खोजिएको छ, युद्धमा गोर्खाली सेनाले भोगेका वास्तविक कथावस्तुमा आधारित भएर चलचित्र निर्माण गरिएको हो”, उहाँले भन्नुभयो, “चलचित्रमा गोर्खाली सेनामा आबद्ध रहेकाहरुको जीवनको भोगाइ र पीडालाई समावेश गरिएको छ, चलचित्रमार्फत मौलिकपना देखाउन खोजिएको छ ।”

चलचित्र गोर्खा वारियरका लागि सोलुखुम्बुका पहाडी क्षेत्र, सर्वोच्च शिखर सगरमाथा, सिन्धुलीको दरबार क्षेत्रका साथै मलेसियामा छायाङ्कन गरिएको छ । चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको चलचित्र गोर्खा वारियर नेपालीले हेर्नैपर्ने चलचित्र बनेको निर्माता सुमन राईले दाबी गर्नुभयो । 

चलचित्रमा नायक क्याप्टेन रितेशसँगै नायिका रेविका गरुङ, विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्रीलगायत कलाकारको अभिनय छ । चलचित्र गोर्खा वारियर ब्रिटिस एकेडेमी फिल्म एन्ड टेलिभिजन अवार्ड ९बाफ्टा० मा पहिलो चरणमा छनोट भएको चलचित्र हो । 

गोर्खालीको इतिहास, बहादुरी, हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र गोर्खा वारियर निर्माण गरिएको निर्देशक मिलनले बताउनुभयो । “विगतमा नेपालीहरुले गोर्खा लाहुरे हुनुपर्ने बाध्यतालाई चलचित्रको विषयवस्तु बनाइएको छ, चलचित्र गोर्खा वारियरमा अभिनय, कला र मार्सलआर्टसमेत समेटिएको छ”, उहाँले भन्नुभयो, “चलचित्र गोर्खा वारियर नेपाली चलचित्र इतिहासमै सबैभन्दा बढी लगानीमा तयार भएको चलचित्र हो, चलचित्र गोर्खा वारियरमा लगानी गरेअनुसार दर्शकको मन जित्न पनि उत्तिकै सफल भएको छ ।” 

लन्डनको आइम्याक्स सिनेमा घरमा प्रिमियर शो गरिएको चलचित्र गोर्खा वारियर फागुन ११ गतेदेखि देशभर प्रदर्शन भइरहेको जनाइएको छ । चलचित्र गोर्खा वारियर हङकङ, अमेरिका, दक्षिण कोरियालगायत ठाउँमा विशेष प्रिमियर शो गर्ने तयारी गरिएको निर्माता राईले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्