अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध, सदनबाट विधेयक पारित


 


वासिङ्टन । टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीसँग सम्बन्धविच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ ।

भिडियो साझा गर्न मिल्ने र १७ करोड अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्दै आएको चिनियाँ एप टिकटकका लागि यो कानुनले ठूलो धक्का दिने विश्लेषकहरूले बताएका छन् ।

टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसामु चिन्ता पैदा गरेको छ ।

टिकटकका विषयमा राजनीतिक रूपमा विभाजित वासिङ्टनमा एकताको दुर्लभ क्षण सिर्जना भएको छ । सांसदहरूले प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका छन् ।

रिपब्लिकन र डेमोक्र्याट दुवैले चुनावी वर्षमा टिकटकका भावुक युवा प्रयोगकर्ताहरूको क्रोधको जोखिम उठाएपछि एप प्रयोगको विपक्षमा आएको चेतावनीले धेरैलाई आश्चर्यचकित पारेको छ । अमेरिकी निर्वाचनमा युवाहरूको भावना र भूमिकालाई महत्त्वपूर्ण मानिन्छ ।

अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले मतदानपछि भन्नुभयो, “आजको मतदानमा संसद्भित्रका दलहरूबीचको एकताले चीनले अमेरिकीमाथि जासुसी गर्ने र छलछाम गर्ने प्रयासको विरोध गरेको देखाउँछ र हाम्रा शत्रुहरूलाई रोक्ने हाम्रो सङ्कल्पलाई सङ्केत गर्दछ ।”

उहाँले भन्नुभयो, “म सिनेटलाई पनि यो विधेयक पारित गर्न र राष्ट्रपतिलाई पठाउन आग्रह गर्दछु ताकि उहाँले यसलाई कानूनको रूपमा मान्यता दिन हस्ताक्षर गर्न सक्नुहुनेछ ।”

यो विधेयकको विषय सिनेटबाट अनुमोदन हुन अझै बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त विधेयक संसद्बाट पारित भएर आए त्यसमा हस्ताक्षर गर्ने बताउनुभएको ह्वाइट हाउसले जनाएको छ ।

“यो प्रक्रिया गोप्य थियो र विधेयकलाई एउटा कारणले जाम गरिएको थियोः यो प्रतिबन्ध हो,” टिकटकका प्रवक्ताले एक विज्ञप्तिमा भन्नुभएको छ ।

“हामी आशावादी छौँ सिनेटले तथ्यहरू विचार गर्नेछ, उनीहरूका घटकहरूलाई सुन्नेछ र ७० लाख साना व्यवसाय र हाम्रो सेवा प्रयोग गर्ने १७ करोड अमेरिकीसँगको प्रभाव र अर्थव्यवस्थामा पर्ने असर महसुस गर्नेछ ।

मतदानपछि टिकटकका प्रमुख कार्यकारी अधिकृत शो जी च्यूले संयुक्त राज्य अमेरिकामा एपका प्रयोगकर्ताहरूलाई आफ्ना सिनेटरहरूसहित आफ्ना कथाहरू बोल्न र साझा गर्न आग्रह गर्नुभएको थियो ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक भिडियोमा उहाँले भन्नुभयो, “हामी यो अद्भुत प्लेटफर्मको सुरक्षाका लागि हाम्रो कानूनी अधिकारको प्रयोगसहित सबै कार्य जारी राख्नेछौँ ।”

“हामीलाई विश्वास छ हामी (टिकटक र यसका प्रयोगकर्ता) मिलेर यस अवरोधको अवस्थालाई पार गर्न सक्छौँ । आफ्नो संवैधानिक अधिकारको रक्षा गर्नुहोस् । तपाईंहरु आफ्ना आवाजहरूलाई अमेरिकी जनता र विश्वसामु सुनाउन कानुनी सङ्घर्ष जारी राख्नुहोस् ।”

सिनेटमा विधेयकलाई पारित गर्न सिनेट नेता चक शुमरको समर्थन आवश्यक रहेको छ । उहाँले विधेयक सदनबाट पारित भएपछि मात्र सिनेटले कानूनको ‘समीक्षा’ गर्ने बताउनुभएको छ ।

टिकटकको मूल कम्पनी बाइटडान्सले १८० दिनभित्र एप बिक्री गर्न वा अमेरिकामा एप्पल र गुगल एप स्टोरबाट प्रतिबन्धित बन्नुपर्नेछ । रासस/एएफपी

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्