चिनियाँ सेनाको आलोचना गरेपछि नोबेल विजेता मो यानविरुद्ध मुद्दा दायर


 


काठमाडौं । चीनका नोबेल पुरस्कार विजेता साहित्यकार मो यानविरुद्ध मुद्दा दर्ता भएको छ । मुद्दा चीनका राष्ट्रवादी ब्लगर मानिने वु वानझेङले दायर गर्नुभएको हो ।

मो यानले आफ्नो पुस्तकमा चिनियाँ सेनाको आलोचना गरेको र जापानका सैनिकहरूलाई गौरवशाली रुपमा देखाएको वुले आरोप लगाउनुभयो । मो यानको यो काल्पनिक पुस्तक जापानले चीनमाथि गरेको आक्रमणको समयमा आधारित छ ।

वु वानझेङ सामाजिक सञ्जालमा निकै सक्रिय हुनुहुन्छ र राष्ट्रवादी मुद्दाहरूमा आफ्ना विचारहरू सार्वजनिक गर्दै आउनुभएको छ । वानझेङले मुद्दामा मो यानसँग १.५ अर्ब युआन क्षतिपूर्ति माग गर्नुभएको छ । प्रत्येक चिनियाँ नागरिकलाई एक युआनको आधारमा क्षतिपूर्ति माग गरिएको छ ।

वु वानझेङले कथित विवादास्पद पुस्तकको बिक्रीमा प्रतिबन्ध लगाउन पनि माग गर्नुभएको छ । यद्यपि चीनको कुनैपनि अदालतले वु वानझेङको मुद्दालाई अहिलेसम्म स्वीकार गरेको छैन ।

यानलाई सन् २०१२ मा साहित्यको नोबेल पुरस्कार प्रदान गरिएको थियो । यान उहाँको उपन्यास रेड सोघमका लागि परिचित छन् । उपन्यास दोस्रो चीन–जापान युद्धमा आधारित छ ।

उपन्यासले एउटै परिवारका तीन पुस्ताको कथा बताउँछ । मो यानले वुन वानझेङले दायर गरेको मुद्दामा अहिलेसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन । यस विषयमा चिनियाँ सामाजिक सञ्जालमा राष्ट्रवादको विषयमा बहस भइरहेको छ ।

कतिपय प्रयोगकर्ताहरूले वु वानझेङलाई समर्थन गरेका छन् भने धेरै प्रयोगकर्ताहरूले यानको पक्ष लिएका छन् र वु वानझेङले प्रख्यात हुनका लागि यस्तो गरेको आरोप लगाएका छन् । एजेन्सी

प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्