इरान सम्झौता ‘बिनाशर्तको आत्मसमर्पण’सरह भएको ट्रम्पको दाबी
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको समझदारीपत्र (एमओयू)लाई ‘बिनाशर्तको आत्मसमर्पण’ सरह भएको दाबी गरेका छन् । साथै उनले उक्त द्वन्द्वले आफ्नो राष्ट्रपति पदको शक्तिको व्यापकता पनि देखाएको बताएका छन् ।
समाचारमाध्यम एक्सियोससँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकी सेनालाई विश्वकै सबैभन्दा शक्तिशाली सैन्य बल भएको उल्लेख गर्दै इरानमाथि पूर्ण सैन्य विजय हासिल गरेको दाबी गरे ।
अन्तर्वार्ताका क्रममा पत्रकार मार्क कापुटोले ट्रम्पलाई सुरुवातमा तपाईंले त बिनाशर्त आत्मसमर्पण चाहेको बताउनु भएको थियो तर हालको समझदारीपत्र त त्यस्तो देखिएन नि भनेर भनेका थिए । त्यसको जवाफमा ट्रम्पले ‘वास्तवमा यो सम्भवतः बिनाशर्त आत्मसमर्पण नै हो,’ भने । पत्रकारले थप स्पष्टता खोज्दा उनले ‘मलाई त्यस्तै लाग्छ’ भने ।
अमेरिका र इरानले हालै युद्ध अन्त्य गर्ने उद्देश्यले अन्तिम सम्झौताका लागि ६० दिने वार्ता प्रक्रिया सुरु गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यद्यपि ट्रम्पको इरान नीति र सम्झौताका सर्तहरूमाथि उनको आफ्नै दल रिपब्लिकन पार्टीभित्र प्रश्न उठ्न थालेका छन् । अमेरिकी सिनेटका केही रिपब्लिकन सदस्यहरूले सम्झौताप्रति खुला असन्तुष्टि व्यक्त गरेका छन् ।
लुइजियाना राज्यका सिनेटर बिल क्यासिडीले सम्झौताबारे टिप्पणी गर्दै इरान अझ बलियो बनेको र अमेरिका कमजोर भएका भनेका थिए । सोही अन्तर्वार्तामा ट्रम्पलाई द्वन्द्वपछि शक्ति प्रयोग र त्यसका सीमाबारे के सिक्नुभयो भन्ने प्रश्न सोधिएको थियो । जवाफमा उनले कुनै सीमा नभएको भनेका थिए । पछि उनले सीमाहरू हुने तर अहिलेसम्म आफूले त्यस्तो पाठ नसिकेको भन्दै अमेरिकाले सैन्य स्तरमा इरानलाई पूरै हराएको बताए ।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












