होली र सेतो पहिरन


 


काठमाडौँ, १० चैत । ‘होलीले मेरो रङ्गायो नयाँ चोली………’
तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समयसन्दर्भ सुहाउँदो थियो । अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ । अहिले चोली लगाउने चलन हराउँदै गएको छ । होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता रमाउन थालेका छन् ।

बानेश्वरस्थित खुला बजारमा ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट खरिद गर्ने ग्राहकको घुइँचो छ । यही चैत ११ गते आइतबार परेको होली पर्वका लागि टिसर्ट किन्न बानेश्वर आउनुभएकी विमला कोइरालाले घरका सानादेखि ठूलालाई मिल्ने टिसर्ट रोज्नुभयो । उहाँले भर्खरै छ महिना भएकी काखे छोरीका लागि मिल्ने होली टिसर्ट खोज्दै हुनुहुन्थ्यो । “सबैलाई हुने किसिमका पाए पनि सानी छोरीलाई हुने भेटाइन”, कोइरालाले भन्नुभयो, “टिसर्ट लाएपछि मात्रै होली आएको अनुभूति हुन्छ ।”

भृकुटीमण्डलको कपडा बजार होलीका पहिरनले भरिभराउँछ । युवा पुस्ताले टिसर्ट नै मन पराउँछन् भने बुढापाकाले कुर्था रोज्ने गरेका व्यापारी अशोक भट्टराईले बताउनुभयो । प्रत्येक होली पर्वमा सेता पहिरन बेचेर प्रशस्त आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।

कक्षा ११ मा पढ्दै गरेकी कोटेश्वरकी ममता चाम्लिङको मन पर्ने पर्व हो, होली । हाफ जिन्समा टिसर्ट लगाएर साथीसङ्गीहरुसँग रङ्गीन, रङ दल्न र नाचगान गर्न उहाँ निकै रुचाउनुहुन्छ । अरू बेला बोल्दै नबोल्ने साथी होलीमा खुसी हुँदै रङ लगाउन आउने भएकाले यो पर्व विशेष र रमाइलो लाग्ने चाम्लिङले बताउनुभयो । उहाँले भन्नुभयो, “रङ खेल्दा नयाँ साथी बनाउने मौका पनि मिल्छ ।”

बबरमहल बस्ने २४ वर्षीया आयुष्मा साहको स्थायी घर सिराह हो । तराईमा होली सोमबार परेकाले उहाँले यो पर्व मनाउन घर जान लागेको सुनाउनुभयो । घरमा सकेसम्म छोरीले कुर्था नै लगाउने चलन रहेकाले टिसर्टको विकल्पमा सेतो कुर्था किन्ने उहाँले बताउनुभयो । “काठमाडौँमा टिसर्ट बढी किन्छन् । हामी कुर्था रोज्छौँ । उता अलि सस्तो पर्ने भएकाले घरबाटै किनिदिनुहुन्छ”, उहाँले भन्नुभयो ।

बागबजारका कपडा व्यापारी भुवन क्षेत्रीले होली लक्षित टिसर्ट प्रिन्टको माग अत्यधिक बढेको बताउनुभयो । एक सातामा दैनिक तीनदेखि चार हजार होली लेखिएका टिसर्ट प्रिन्ट गर्ने गरिएको उहाँको भनाइ छ । “माग अनुसारको अझै उत्पादन गर्न सकेका छैनौँ”, भुवनले भन्नुभयो, “होलीको दिनसम्म यस्ता सेता टिसर्टको मागसँगै व्यापार हुन्छ ।” नेवारी, तामाङ, अङ्ग्रेजी, नेपालीलगायत भाषामा अक्षर तथा सङ्केत टिसर्टमा प्रिन्ट गर्ने गरेको उहाँले बताउनुभयो । “नेवार संस्कृति झल्किने र ‘हेप्पी होली’ लेखिएका टिसर्ट खोज्दै धेरै आउनुहुन्छ”, उहाँले भन्नुभयो, “सकेसम्म सबैको चित्त बुझाएर बजारमा सामान पठाउने गरेका छौँ ।”

प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्