सँझ्या साहित्यमा तीन पुस्ता


 


काठमाडौँ, माघ ९

सँझ्या साहित्यको माघ शृङ्खलामा भिन्न पुस्ताका तीन कवि प्रस्तुत भए । तीसको दशकदेखि नेपाली कविताको फाँटमा भिन्न शिल्पले आफ्नो दरिलो उपस्थिति जनाइरहेका कवि तथा प्राज्ञ डा. अमर गिरी, पचासको दशकदेखि नारी सौन्दर्य र जातीय पहिचानसहित कविता लेखिरहेकी कवि विमला तुम्खेवा र भाषिक सौन्दर्य र पहिचानको मुद्दामा बलियो कविताका कारण नेपालभाषामा लोकप्रिय कवि सुधीर ख्वबीले आफ्ना बलिया कविता सुनाए ।

प्राज्ञ डा. अमर गिरीले नेपाली समसामयिक राजनीतिमा व्याप्त विकृतिमाथि प्रहार गर्दै लेखिएको भिन्नता शीर्षक कविताबाट शुरु गर्दै लय, पाठ, चतामरि, पुनः नारायण हिटि, परिचय, वृक्ष र मैले भन्नुपर्ने छ कवितामा टुङ्ग्याए ।

स्थानीय र आञ्चलिक विम्बसहितका उनका कवितामा राजनीति, देशप्रेम र सामाजिक, आर्थिक र राजनीतिक अस्थिरता, असमानतामा केन्द्रित थियो । पुनः नारायण हिटि कवितामार्पmत उनले महेन्द्रकालीन राष्ट्रवादको भण्डाफोर गरे भने मैले भन्नुपर्ने वामपन्थमा विकसित हुँदै गरेको राजकीय प्रवृत्ति, दास मनस्थितिमाथि सटिक व्यङ्ग्य गरे ।

अर्का बलिया कवि बिमला तुम्खेवाले झरी परेको एक बिहान तिमीलाई सम्झिँदा शीर्षक प्रेमले विम्बित रुमानी कविताका साथ प्रस्तुत भइन् । उनले हजार सपना र मनमाया, जेठी सुबिनी, आमा, के देशले लाश उत्पादन गरिरहेछ ? शहरमा बदनाम कथा र एउटा आदिवासीको कथा प्रस्तुत गरिन् ।

हजार सपनामा मनमाया कवितामार्पmत उनले ब्रिटिस आर्मीका पत्नीहरूको मर्म र दुःखको बयान गरिन् भने देशको असमान न्याय र महिलामाथि गरिने थिचोमिचो र विभेदपूर्ण समाजिक व्यवस्थाका कारण महिलाले भोग्नुपर्ने असफलता वयान गरिन् ।

नारी र आदिवासीमाथि राज्यले युगौँदेखि गरिरहेको अन्यायविम्बित एउटा आदिवासीको कथा शीर्षक कविता प्रस्तुत गर्दा दर्शकले ताली पिटे । त्यस्तै रेमिटन्सले धानिरहेको देशलाई के देशले लाश उत्पादन गरिरहेछ कवितामार्फत चुनौती गर्दा दर्शकलाई गम्भीर बनाए ।

नेपालभाषाका बलशाली कवि सुधीर ख्वबीले विज्ञापन कविताबाट शुरु गरे । गरिब, नारी, आदिवासी जनजातिलाई विज्ञापनमा देखाएर सरकारले मचाएको बहुराष्ट्रिय ताण्डबमाथि गरिएको उनको यो कविताले दर्शकको वाहवाही पाए ।

उनले निस्तब्ध, अलबिदा प्रिय कविता अलबिदा, रूपान्तरण, गुलामहरूको देश हुँदैन, प्रेम कविता, घामको बाटो र देशको नाममा कविता प्रस्तुत गरे । उनले निस्तब्धतामा दुःखको आवाज नहुने र दुखेकाको आवाज कसैले नसुन्ने स्वार्थी समाजको चलन सुनाए भने गुलामहरूले देश विकासको बाटो थुनिरहेकामा आक्रोश पोखे ।

देशका नाउँ कवितामार्फत उनले देश कतै नभएको दुखेसो पोखे । घामको बाटोमा उनले समाजमा व्याप्त उँचनिच र बर्गीय असमानता अन्त्य नभएसम्म देशले निकास नपाउने निष्कर्ष गरे ।

मध्यपुर थिमिस्थित ॐ ज्ञान मन्दिरमा प्रत्येक महिनाको दोस्रो शनिबार सम्पन्न हुने सँझ्या साहित्यको प्रमुख उद्देश्य लेखिरहेका तर नदेखिएका, लेखिरहेका र निरन्तर रहेका, लेखिरहेका तर मञ्चले नचिनेका कविका कवितालाई समावेशी सिद्धान्तको आधार निर्माण गर्ने रहेको कार्यक्रका अभियन्ता कवि रामगोपाल आशुतोषले बताए ।

सोही कार्यक्रममा युवा कवि घनश्याम अस्तित्वले पनि एउटा कविता सुनाएका थिए ।

प्रकाशित मिति: ९ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्