आठ वर्षपछि ‘बटुवा–२’मा छिनाम


 


काठमाडौं, माघ १४

संगीतकार तथा गीतकार शरण छिनाम आठ वर्षको अन्तरालपछि ‘बटुवा–२’ एल्बम लिएर दर्शक÷श्रोतामाझ आएका छन् । स्टुडियो पर्पलले हालै बजारमा ल्याएको यस एल्बममा पाँचवटा गीत सुन्न सकिने संगीतकार छिनामले जानकारी दिए ।

यस एल्बममा संग्रहित ‘मगमग बास्ना छरी’, ‘ढुंगे साँघु तरी जाने’, ‘प्रीतिको फूल’, ‘रूप चोर्नु जूनको भन्छन्’ र ‘तिम्र्रो तस्बिर सिरानीमा’ बोलको गीतमा क्रमशः राजेशपायल राई, कुन्ती मोक्तान, निखिता थापा, अञ्जु पन्त र निखिताकै स्वर समेटिएको छ ।

तीनवटा गीतमा आफ्नै र अन्य दुई गीतमा श्रीपुरुष ढकाल र प्रकाश धमलाको शब्द–रचना समेटिएको छ । यसअघि ‘बटुवा’ र ‘सँगालेर आएँ’ दुईवटा एल्बम निकालेका छिनामले राम्रो सिर्जना समेट्ने प्रयास गर्दा लामो समय लागेको बताए ।

‘पहिलो त म आफ्नो गाउँ पाँचथरको लिम्बा गाविसमै बस्छु । सानोतिनो व्यवसाय गर्छु’, उनले भने, ‘त्यहीबीच समय निकालेर संगीतमा लगाउँछु ।’ त्यसो भए एल्बम किन निकाल्नुपरेको हो ? ‘यो मेरो सोखको विषय हो’, उनले भने, ‘म संगीतबाट टाढा रहनै सक्दिनँ । तर, म व्यावसायिक संगीतकार होइन, त्यो तरिकाले अघि बढ्दा राम्रो गीतसंगीत सिर्जना पनि हुँदैन ।’

‘बटुवा’ एल्बमको ‘बाटो हिँड्ने बटुवाको बाटै प्यारो साथी’ बोलको गीतले उनलाई सांगीतिक क्षेत्रमा चिनाएको थियो । यही गीतबाट उनले संगीत र शब्द दुवैतर्फ २०६५ सालमा हिट्स एफएम म्युजिक अवार्डसमेत हात पारेका थिए ।

विगतमा ‘स्लो सेन्टिमेन्टल’ गीतलाई प्राथमिकतामा दिएको उल्लेख गर्दै उनले यसपटक ‘फास्ट बिट’का गीतलाई एल्बममा समेटेको सुनाए । ‘अहिले बढी दर्शक श्रोताको रोजाइमा फास्ट बिटका गीत परेका छन् । त्यही भएर मैले आफूलाई समय सापेक्ष ढंगले अघि बढाउन खोजेको छुु ।’

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्