गाेर्खा वेलफेयरले भोजपुर क्याम्पसको भवन बनाईदिने


 


भोजपुर (१५ माघ)

गोर्खा वेलफेयर स्किम (जिडब्लुएस) का नेपाल निर्देशक जोन र जिडब्लुएस कार्यालय भोजपुरका प्रमुख क्याप्टेन राजन राईसहितको टोलीले शनिबार भोजपुर बहुमुखी क्याम्पसको स्थलगत अवलोकन भ्रमण गरेको छ ।

भ्रमण टोलीलाई स्वागत गर्नुहुँदै क्याम्पस प्रमुख डा. रोहित कुमार श्रेष्ठले गत वर्षको भुकम्पका कारण भवनहरु क्षतिग्रस्त भएको र पठनपाठनमा बाधा परिरहेको वर्तमान अवस्थामा जिडब्लुएसको सहयोगमा क्याम्पसमा भवन निर्माण गर्ने सम्झौता भएको बताउनुहुँदै जिडब्लुएसप्रति आभार प्रकट गर्नुभएको थियो ।

उहाँले चाँडोभन्दा चाँडो भवन निर्माण गर्न सके भोजपुरबासी आम सर्वसाधारण विद्यार्थी वर्ग र क्याम्पस परिवार लाभान्वित हुने अपेक्षा टोलीसमक्ष राख्नुभएको थियो ।

टोलीको तर्फबाट नेपाल निर्देशक जोनले बजेट स्वीकृत भइसकेको र आगामी नोभेम्बरबाट काम शुरु भई अर्को जुनसम्ममा कार्य सम्पन्न गरिने आश्वासन दिनुभएको छ ।

त्यस्तै क्याप्टेन राजन राईले जिडब्लुएसबाट अहिलेसम्म विद्यालय तहसम्मको भवनहरु बनाउन सहयोग हुँदै आएकोमा पहिलो पटक क्याम्पस तहको भवन निर्माण गर्न भोजपुर बहुमुखी क्याम्पसको योजना स्वीकृत भएको जानकारी गराउनु हुँदै अब चाँडै नै इन्जिनियरको टोलीले पूर्ण सर्वेक्षण गरी काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त व्यक्त गर्नुभयो ।

उहाँले क्याम्पसको तर्फबाट सहयोगी समिति गठन गरेर काममा कुनै पनि प्रकारको बाधा नआउने गरी समन्वय गरिदिन आग्रह गर्नुभएको थियो । टोलीले क्याम्पसको पुस्तकालय र ब्याटमिन्टन कोर्टको समेत स्थलगत अवलोकन गरेको थियो ।

यस अघि गत कार्तिक २८ गते क्याम्पस र जिडब्लुएस कार्यालयबीच भवन निर्माणको द्धिपक्षिय सम्झौता भइसकेको छ ।

क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु, प्राध्यापकहरु र कर्मचारी समेतको उपस्थितिमा भएको छलफल कार्यक्रममा भ्रमण टोलीलाई क्याम्पसको तर्फबाट मायाको चिनो स्वरुप एक एक थान भोजपुरे खुकुरी उपहार दिइएको क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रितालले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्