चितवनमा नयाँ प्रजातिको चरा भेटियो
चितवन, माघ १८
चितवनको सिमसार क्षेत्रमा चराको प्रजाति थपिँदै गएको छ । ३ वर्षको अन्तरालमा मात्रै ७ प्रजातिका चरा थपिएको पाइएको छ । तीन वर्षअघि ४७ प्रजातिका चरा फेला परेकोमा हालै गरिएको अनुगमनमा ५४ प्रजातिका चरा भेटिएको बर्ड एजुकेशन सोसाइटी चितवनले जनाएको छ ।
यो वर्षमात्रै चितवनको सिमसार क्षेत्रमा ४ प्रजातिको चरा थपिएको छ । अघिल्लो वर्षको अनुमगनमा चितवनको सिमसार क्षेत्रमा ५० प्रजातिका चरा पाइएकोमा त्यसको अघिल्लो वर्ष ४७ प्रजाति भेटिएको थियो । तर, यसपटको अनुगमनमा ५४ प्रजातिका चरा भेटिएको सोसाइटीले जनाएको छ ।
प्रजाति बढे पनि चराको संख्या भने घटेको पाइएको छ । यो पटकको अनुगमनमा ५ हजार ६५९ वटा पानीमा आश्रित चरा फेला परेको र सिमसार क्षेत्रभरी गरेर कुल १० हजार ३२ चरा गणना गरिएको सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए ।
अघिल्लो वर्ष सिमसार क्षेत्रमा ११ हजार २६० वटा चरा भेटिएको थियो । गत वर्षको तुलनामा चखेवा भने निकै बढेको सोसाइटीले सार्वजनिक गरेको तथ्याङमा उल्लखे छ । गत वर्ष २ हजार ४ सय ६८ वटा चखेवा भेटिएकोमा यसपटक २ हजार ९ सय ५ वटा गणना गरिएको छ ।
यस वर्ष थपिएको प्रजातिमा रुड्डी टर्नस्टोन पनि एक रहेको चराविज्ञ बासु बिंडारीले जानकारी दिए । चरा र बासस्थानको अवस्था पत्ता लगाउन चितवनमा पुषको अन्तिम सातादेखि २ हप्तासम्म गणना गरिएको थियो ।
नेपालमा ८ सय ८७ प्रजातिका चराहरु छन् । नेपालमा पाइने चरामध्ये अधिकांश चरा चितवनमा देखिएकाले यहाँ चरा पर्यटनको राम्रो सम्भावना रहेको चराविज्ञ टिका गिरी बताउँछन ्।