महिलाले खोले आफ्नै लगानीमा सहकारी


 


तेह्रथुम, माघ १९

ह्वाकु गाविसका महिलाले आफ्नै नेतृत्व र सेयर लगानीमा ‘जालपादेवी महिला कृषि सहकारी संस्था’ सञ्चालन गरेका छन् । ह्वाकुको नौवटै वडाका १० वटा आमा समूहमा आबद्ध १२५ महिलाले सेयर लगानी गरी सो सहकारी सञ्चालन गरेको अध्यक्ष बलमाया गुरुङले बताउनुभयो ।

सहकारीमा आबद्ध सेयर सदस्यले न्यूनतम १० देखि २० कित्तासम्म सेयर लगानी गरेका छन् । सुरुवातमा सहकारीको कुल पुँजी रु तीन लाख ३९ हजार रहेको सचिव मेनुका ओलीले जानकारी दिनुभयो ।

सहकारीले बचत, ऋण लगानी तथा असुलीको कारोबार समेत सुरु गरेको छ । ग्रामीण भेगका महिलाको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले सहकारी सञ्चालन गरेको ओलीको भनाइ छ । ‘देउराली सोसाइटी’ गैरसरकारी संस्थाले महिलालाई सहकारी संस्थातर्फ प्रवर्धन गरेको हो ।

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्