पाँच करोडको कारोबार गर्दै पर्वत महोत्सव सम्पन्न


 


फलेवास (पर्वत), माघ २३

सदरमुकाम कुश्माबजारमा भएको पाँचौँ पर्वत महोत्सव पाँच करोड बराबरको कारोबार हुँदै सम्पन्न भएको छ । माघ १३ देखि २२ गतेसम्म आयोजित महोत्सव एक लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका महासचिव ठाकुर बी पौडेलले बताउनुभयो ।

कलाकारहरु याम क्षेत्री, शान्तिश्री परियारलगायतले महोत्सवमा भरपुर मनोरञ्जन दिलाएका थिए । समापन कार्यक्रममा मूल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले महोत्सवबाट भएको आम्दानीबाट सभागृह र खेलकुद मैदान बनाइने बताउनुभयो ।

महोत्सवमा विश्वकै सबैभन्दा ठूलो पक्षी सुतूरमुर्ग र अस्ट्रेलियाको राष्ट्रिय पक्षी इमो तथा कालीगण्डकीमा जलयात्रा आकर्षणका रुपमा थिए । रत्यौली र विद्यालयस्तरीय नृत्य प्रतियोगिताले पनि धेरैको मन छोएको थियो ।

कृषि र शैक्षिक, परम्परागत प्रविधि, स्थानीय परिकारको प्रदर्शनीका साथै स्थानीय लघु घरेलु उद्यमबाट उत्पादित सामग्री पनि बिक्री तथा प्रदर्शनमा राखिएका थिए ।

प्रकाशित मिति: २३ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्