दूर्घटना न्यूनिकरण कार्यक्रम सम्पन्न



भक्तपुर, माघ २४

भक्तपुरमा सडक दूर्घटना बढेपछि मध्यपुरथिमि नगरपालिका १५ गठ्ठाघर स्थित मेट्रो अटो सेन्टरले आज यहाँ दूर्घटना न्यूनिकरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रहरी, ट्राफिक प्रहरी, संचारकर्मी, नर्सिङ्ग कलेजका विद्यार्थीहरु र सरोकारवाला निकायहरुको सहभागिता रहेको कार्यक्रममा दूर्घटना न्यूनिकरण गर्न अपनाउनु पर्ने कानूनी तथा व्यबहारिक पक्षकाबारेमा जानकारी गराईएको थियो ।

त्यसैगरि दूर्घटना हुँदा तत्काल पुर्याउनु पर्ने प्राथमिक उपचार, स्वासप्रश्वास प्रणालीमा सूचारु गर्न अपनाईने उपचारका बिधीहरुको प्रयोगात्मक रुपमा जानकारी गराईएको थियो ।

कार्यक्रममा स्याकार कम्पनीको सह अध्यक्ष सुरिभ ज्योतिले सडक दूर्घटना भयावह रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै दूर्घटना न्यूनिकरणका लागि कम्पनीले सक्दो सहयोग गर्ने बताउनुभयो ।

त्यसअवसरमा यातायात व्यबस्था कार्यालयका प्रमुख बसन्त अधिकारीले हाल देशभर २४ लाख सवारी साधन रहेको बताउँदै सवारी चालकको लापर्वाहीका कारण दूर्घटना बढ्दै गएको बताउनुभयो ।

उहाँले सवारी साधन काठमाण्डौ केन्द्रीत बनेको चर्चा गर्दै सवारी साधनले नम्बर प्लेट नै छोपेर हिड्ने, जथाभावी सवारी रोक्ने, ट्राफिक नियमको पालना नगर्ने जस्ता लापर्वाही बढ्दा दर्घटना बढेको चर्चा गर्नुभयो ।

दूर्घटना न्यूनिकरणका लागि कानूनको पालना गर्ने र कानून उलंघन गर्नेलाई कडा कारबाही गर्ने नीति अबलम्न गरेको बताउँदै उहाँले कानून उलंघन गर्ने सवारी साधनका विरुद्ध तत्काल उजुरी गर्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो—‘सवारी नियम पालना नगर्ने बिरुद्ध यातायात व्यबबस्था कार्यालय वा ट्राफिक कन्ट्रोलको १०३ मा तत्काल फोन गरेर त्यस्ता साधनको नम्बर प्लेट टिपाईदिनुहोस हामी तत्कालै कारबाही गर्छौ, उजुरी गर्ने बानी बसाले पनि धेरै हदसम्म दूर्घटना घटाउन सकिन्छ ।’

यातायातसंग सम्बन्धि समितिहरुको संरक्षणका कारण दूर्घटना बढेको बताउँदै प्रमुख अधिकारीले भन्नुभयो—‘सडकमा सवारी चलाउँदा गल्ती गर्ने चालक, सहचालक, अनि जरिवाना तिर्ने समिति, यसरी समितिले गल्ति गर्नेको संरक्षण गर्ने परम्पराले पनि दूर्घटना न्यूनिकरणमा कठिनाई भएका्े हो ।’

कार्यक्रममा डा. सुवास प्याकुरेलले दूर्घटनामा परेर घाईते हुने विरामी जसको स्वासप्रश्वास रोकिएर जोखिममा परेका हुन्छन्, उनीहरुको तत्काल प्राथमिक उपचार कसरी गर्ने र कसरी बचाउँने भन्नेबारेमा प्रयोगात्मक (डेमोस्टेशन) बिधीबाट सहभागिलाई जानकारी गराउनु भएको थियो ।

त्यस अवसरमा मेट्रो अटो सेन्टर एवं गठ्ठाघर स्थित होण्डा शोरुमका प्रमुख गोपी न्यौपानेले अटो क्षेत्रले सरकारलाई हरेक वर्ष ८० अर्बदेखि १ खर्बसम्म राजस्व बुझाउँदै आएको बताउँदै दूर्घटना न्यूनिकरणमा सरकारले बिशेष चासो दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारले बलियो पक्कि सड्क निर्माण, सड्कको विस्तार, निरन्तर रुपमा सडकको मर्मत सम्हार गर्ने, ट्राफिकको जनशक्तिलाई बढाउने जस्ता कार्यमा चासो दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बिनाबर्दीका ट्राफिक स्वयंसेवक शेखर राई होण्डाद्वारा सम्मानित  भएका छन् भने सडक दूर्घटना न्यूनिकरणमा टेवा पुर्याउने व्यक्तिहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News