धरान खानेपानी आयोजनाको राज्यमन्त्री खडकाद्वारा उद्घाटन


 


निराेज काेइराला

भोजपुर माघ २८

धरानमा निर्माणाधीन खानेपानी आयोजनाको धरान उपमहानगरपालिका वडा नं. १७ र ११ को केही भागलाई लक्षित गरी निर्माण गरिएको रेल वे सिष्टमको उद्घाटन गरिएको छ ।

खानेपानी तथा सरसफाई राज्य मन्त्री दिपक खड्काले उक्त सिष्टमको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै राज्यमन्त्री खडकाले धरानले निर्धारित समयसिमा भित्रै आयोजना सम्पन्न गर्ने गरी प्रगति गरेकोमा खुशी व्यक्त गर्दै आयोजनामा संलग्न सबै पक्षलाई धन्यवाद व्यक्त गरे ।

उनले धरान उपमहानगरले तिर्नुपर्ने ५ प्रतिशत ब्याज घटाउन अर्थ मन्त्रालयमा पहल भईरहेको जानकारी गराउंदै ब्याज कम गरिने बताए । सो अवसरमा बोल्दै उनले धरानको सरसफाई, खानेपानी, ढल तथा सार्वजनिक शौचालयहरुको सन्दर्भमा थप केही गर्नुपर्ने भए मन्त्रालयसंग समन्वय गर्न आग्रह गर्दै पूरा गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

सो क्रममा उनले निर्वाचनको विकल्प नभएकाले लोकतान्त्रिक सरकार भएका कारण अधिकतम दलहरुसंग सहमति गरी स्थानीय निकायको निर्वाचन गर्न सरकार लागि परेको समेत बताए ।

धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाले मन्त्रालयवाट सहज सहयोग भएमा तोकिएकै समयमा आयोजना सम्पन्न गर्न सकिने बताए ।

उनले खानेपानी संस्थानको सम्पत्ति र दायित्व हस्तान्तरणमा ढिलाई भएका कारण म्याचिङ फण्ड जुटाउन समस्या भईरहेकोले हस्तान्तरण कार्यमा मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । आयोजना प्रमुख राजु पोखरेलले ६८ प्रतिशत काम सम्पन्न भईसकेकाले आयोजना सफल हुने बताए ।

धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङले रेल वे सिष्टमवाट वितरण हुने ३ हजार ५ सय घर मध्ये हाल १ हजार २ सयमा धारा पुर्याई सकिएको बताए । बांकी २ हजार ३ सय घरमा जडान शुल्क तिर्ने वित्तिकै धारा पुर्याइने बताए ।

पानी आउंछ कि आउंदैन भनेर अन्यौलमा रहेका परिवार मध्ये १ हजार २ सय घरमा पानी पुगेपछि अब जडान गर्न आउने उनले बताए । परामर्शदाता अनिल नेपालले दिन रात दुई सिफ्ट गरेर भएपनि अबको ६ महिनाभित्र काम सम्पन्न गर्न दृढ रहेको बताए ।

एकिकृत सहरी विकास कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकको ३५ प्रतिशत क्रृण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान नगरपालिकाको १५ प्रतिशत गरी कूल १ करोड ४८ लाख लगानीमा ठेकेदार टियानजीन तुन्दी जोइन्ट भेन्चरले जुलाई २०१५ बाट आगामी जुलाई २०१७ मा सम्पन्न गर्ने गरी धरानमा खानेपानी आयोजनाको कार्य गरिरहेको छ ।

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्