नेपालको पुरूष टोली पनि खो खो विश्वकपकाे फाइनलमा
काठमाडौं ५ माघ। भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ ।
यसअघि महिला टोलीले फाइनलको यात्रा तय गरेको थियो । पुरूष टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधिनजिक पुगेको हो ।
नेपालको पुरुष राष्ट्रिय खो खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा इरानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । नयाँ दिल्ली स्थित इन्दिरा गान्थी इन्डोर हलमा भएको खेलमा नेपालले इरानलाई ७२–२० अंकको अन्तरले हरायो ।
नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । यसअघि नै नेपालको महिला टोलीले युगाण्डालाई हराएर फाइनलमा स्थान बनाइसकेको छ ।
नेपालको टोली कुनै पनि खेलको विश्वकपमा फाइनल पुगेको यो पहिलोपटक हो । त्यसमा पनि महिला र पुरुष दुवै टोली फाइनलमा पुग्दै इतिहास रचेको हो ।
नेपालको लागि कुनै पनि खेलको विश्वकप पुग्नु नै ठूलो विषय हुन्छ । त्यसमा पनि खो खो विश्वकप खेलेर अपराजित रहँदै महिला टिम फाइनल नै पुग्नु नेपाली खेलकुदकै ऐतिहासिक क्षण हो ।
पुरूषतर्फ उद्घाटन खेलमै भारतसँग पराजित भएपनि त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो ।
पहिलो खेलमा भारतसँग ४२–३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०–३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८–८ अन्तरले हराएको थियो । क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७१८ को अन्तरले हराएको थियो ।
प्रकाशित मिति: ५ माघ २०८१, शनिबार
















