सुप्रिम सहकारी ठगीको आरोपमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर



रुपन्देही । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा आज रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी लगायत ४२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ ।

प्रहरीले थप १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय दिएपछि आज लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको थियो।

रविविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो ।

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्