सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा लाग्यो डोजर



काठमाडौँ, ६ माघ। काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ महानगरपालिका ७ स्थित धोबी खोला काेरिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरू भत्काउन सुरु गरेको छ ।

आइतबार प्राधिकरणको टोलीले काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालय नजिक रहेका भवनहरू भत्काउन सुरु गरेको हो । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ । 

सो क्रममा स्थानीयहरूले केहीबेर अवरोध समेत गरेका थिए । मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ । 

धोबी खोला र बागमती नदी किनारमा करिब पाँच सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ । 

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्