रविलाई धरौटीमा छाड्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश


 


पोखरा । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्नुको कारण पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सहितको प्रतिवेदन पेश गर्न कास्की अदालतलाई आदेश दिएको हो ।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित ७ जनालाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेश गर्न अदालतको आदेश छ ।

जिल्ला अदालत कास्कीले लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो ।
२५ पुस, २०८१ मा जिल्ला अदालत कास्कीले गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक समेत रहेका लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर समूह मिलेर अपचलन गरेको आरोपमा उनीसहित सात जनामाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्