सुप्रिम सहकारी ठगीमा रविविरुद्धको मुद्दा न्यायाधीश योगीको इजलासमा



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन्।

कार्यालय खुलेलगत्तै लामिछाने अदालतमा उपस्थित भएका हुन् । बुटवलको सुप्रिम सहकारीको बचत ठगी र संगठित अपराधमा लामिछानेविरूद्ध मुद्दा दर्ता भएको थियो।

लामिछाने मंगलबार साँझ नै केही कानुन व्यवसायीको साथमा भैरहवा आएका थिए। लामिछानेविरुद्धको सहकारी ठगी एवं संगठित अपराध मुद्दा जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा परेको छ ।

लामिछानेविरुद्ध आइतबार बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

लामिछाने बुधबार बिहान अदालत खुल्नासाथ १० बजे नै अदालत पुगेका थिए । उनी पुगे लगत्तै अदालतले उनलाई हाजिर गराएको थियो ।

लामिछानेलाई पोखराको सुर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।

गत पुस २५ गते कास्की अदालतले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने माघ २ गते काठमाडौं अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्