बालिका अपहरण गर्ने तीनजना भारतीय नागरिक जेल चलान

लमजुङ । लमजुङमा बालिका अपहरणमा संलग्न रहेको आरोपमा तीनजना भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत लमजुङले मङ्गलवार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनीहरूलाई कारागार चलान गरिएको हो ।
कारागार चलान हुनेमा भारत मोतिहारीका ४० बर्षीय बिगु खान र उनकी श्रीमती नार्गिक खान रहेका छन् । उनका १७ बर्षीय नाबालक छोरालाई बाल सुधार गृह पोखरा पठाइएको छ ।
उनीहरूलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा थुनामा राखेर पुर्पक्ष गर्न जिल्ला अदालत लमजुङका न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासबाट कारागार चलानको आदेश भएको बताइएको छ ।
प्रहरीलाई खान परिवारले बेसीशहर नगरपालिका–७, बस्ने १३ वार्षीय कुमारी (नाम परिवर्तन) लाई गत मङ्सिर २४ गते अपहरण गरी भरततर्फ लग्दै गरेको भन्ने सूचना आएको थियो । सोही सूचनाको आधारमा लमजुङ प्रहरीले अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: १० माघ २०८१, बिहिबार