सामसङ इनोभेसन क्याम्पसको कोडिङ कार्यक्रम सम्पन्न, नेपालमा नयाँ एआई कोर्सका लागि आवेदन खुला
काठमाडौं, ८ साउन । सामसङ नेपालले युवा डिजिटल प्रतिभा विकास गर्ने आफ्नो अभियानअन्तर्गत सामसङ इनोभेसन क्याम्पस (SIC) को कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ। साथै कम्पनीले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रमका लागि आवेदन खुला गरेको घोषणा गरेको छ।
डिसेम्बर २२, २०२५ देखि जुन ३०, २०२६ सम्म सञ्चालन भएको कोडिङ तथा प्रोग्रामिङ कोर्सले सहभागीलाई प्राविधिक सीप, व्यावहारिक परियोजना अनुभव र उद्योगसँगको प्रत्यक्ष एक्सपोजर प्रदान गरेको थियो। कार्यक्रम सफलतापूर्वक पूरा गर्ने विद्यार्थीलाई विशेष समारोहमा सम्मान गरिएको सामसङले जनाएको छ।
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नेपालका युवामा अपार सम्भावना रहेको उल्लेख गर्दै आर्टिफिसियल इन्टेलिजेन्सले उद्योगहरूलाई पुनःपरिभाषित गरिरहेको वर्तमान अवस्थामा डिजिटल प्रतिभा विकासको आवश्यकता झन् बढेको बताए। उनले सामसङ इनोभेसन क्याम्पसले युवालाई सीप, आत्मविश्वास र नवप्रवर्तनशील सोच प्रदान गर्दै नेपालको डिजिटल भविष्य निर्माणमा योगदान गरिरहेको बताए।
सामसङको ‘Together for Tomorrow! Enabling People’ अभियानअन्तर्गत सन् २०२३ देखि नेपालमा सञ्चालनमा रहेको इनोभेसन क्याम्पसले सञ्चार, सहकार्य, आलोचनात्मक सोच तथा उदीयमान प्रविधिसम्बन्धी उद्योग–केन्द्रित सीप विकासमा जोड दिँदै आएको छ।
कम्पनीका अनुसार नयाँ एआई कार्यक्रम व्यावहारिक सिकाइ र वास्तविक समस्या समाधानमा आधारित हुनेछ। यसले सहभागीलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी क्षमता विकास गर्न तथा नवप्रवर्तनमार्फत नेपालको विकास आवश्यकतामा योगदान दिन सक्षम बनाउने अपेक्षा गरिएको छ।
सामसङ नेपालले कार्यक्रमका स्नातकलाई भविष्यमा पनि मेन्टरसिप, नवप्रवर्तन परियोजना तथा करियर मार्गदर्शनमार्फत सहयोग गर्ने जनाएको छ। साथै ‘सामसङ इनोभेसन क्याम्पस अल्मुनाई नेटवर्क’ स्थापना गरी पूर्व सहभागीहरूलाई आपसी नेटवर्किङ, निरन्तर सिकाइ र नयाँ सहभागीलाई मार्गदर्शन गर्ने अवसर प्रदान गर्ने योजना रहेको जनाएको छ।
सामसङले नेपालको एआई इकोसिस्टम विकास, रोजगारीका अवसर विस्तार तथा डिजिटल रूपान्तरणलाई तीव्र बनाउन शैक्षिक संस्था, निजी क्षेत्र र सरकारबीचको सहकार्य आवश्यक रहेको जनाएको छ।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार







