घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने दुई जना भारतबाट पक्राउ



काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि लाजिम्पाटमा आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

रड आक्रमणमा संलग्न रही फरार भएका नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

नुवाकोटका व्यवसायी लामामाथि गत कात्तिक ११ गते उनको अफिस नजिकै लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो ।

लामामाथि गाडी पार्किङ गरेर झरेलगत्तै चार जनाको समूहले आक्रमण गरेको थियो ।

आक्रमणको आरोपमा यसअघि प्रहरीले गण्डकी प्रदेश सांसद दीपक मनाङेका स्वकीय टीका भण्डारी, मार्शल भनिने शैलेन्द्र तामाङ र निश्चल सुनारलाई पक्राउ गरेको थियो ।

उनीहरु चारै जनामाथि प्रहरीले ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्